
ग्ल्यामरको नाममा भल्गर दृश्य र सम्बाद प्रयोग बढेका कारण चलचित्र बिकास बोर्डले स्क्रिप्ट नपढी फिल्म दर्ता नगर्ने भएको छ । यस अघि प्रोडक्सन म्यानेजरको भरमा वान लाईन स्टोरी भए सजिलै फिल्म दर्ता गर्ने आफ्नो नियमलाई केही कडा बनाउदै बोर्डले निर्देशक आफै उपस्थित भएर अनिवार्य रुपमा स्क्रिप्ट बुझाउनु पर्ने नियम अघि सारेको हो ।
बोर्ड प्रवक्ता विकास आचार्यले दिएको जानकारी अनुसार यो नियमलाई शसक्त तरिकाले अघि बढाउन बोर्ड पूर्व अध्यक्ष शैलेश आचार्यको नेतृत्वमा स्क्रिप्ट अध्ययन समिति समेत गठन गरिएको छ । जुन समितिको नाम पूर्ण आलेख अध्ययन समिति राखिएको छ । समितिमा निर्माता संघ तथा निर्देशक समाजको तर्फबाट एक-एक सदस्य र चलचित्रलाई राम्ररी बुझेका अन्य दुई निकायका दुई ब्यक्ति सहित पाँच सदस्य रहने आचार्यले जानकारी गराए । 'अन्य सदस्यको नाम पनि फाईनल हुँदैछ त्यस पश्चात दर्ताका लागि आउने हरेक फिल्मको स्क्रिप्ट पढेर सो समितिको सुझाव अनुरुप बोर्डले फिल्मको दर्ता प्रक्रिया अघि बढाउने छ', आचार्यले भने ।