
जेष्ठ २५ गतेबाट शुरू गर्ने भनिएको पहिलो नेपाली थ्रीडी फिल्म 'भिजिलान्ते' को सुटिङ प्राबिधिक कारणले गर्दा असारको पहिलो साता देखि हुने भएको छ । आफूलाई चाहिने क्यामेरा नआईसकेकाले सुटिङ सार्नु परेको निर्देशक दीपेन्द्र के. खनालले फिल्मीखबरलाई बताए ।
फिल्मका लागि तीन वटा क्यामेरा प्रयोग गर्न लागेका निर्देशक खनालले २ वटा क्यामेरा अझै आउन बाँकी भएकोले समयमा सुटिङ गर्न नसकेको बताए । प्रबिधिको बारेमा बोल्दै खनालले भने, 'काम सोचे जस्तो सजिलो छैन । पोष्टप्रोडक्सनका सफ्टवेर देखि क्यामेरा मैले नै किनेको छु । अरू त लगभग सामान आईसक्यो दुई वटा क्यामेरा भने आउन बाँकी छ ।' पानी मुनि पनि सिन खिच्न पर्ने भएकाले अन्डर वाटर क्यामेरा मगाएको उनको भनाई छ । बिदेशमा जस्तो चाहेको बेला सामान उपलब्ध हुन नसक्दा काम ढिलो हुने दीपेन्द्र बताउँछन् ।
आफ्नै होम प्रोडक्सनमा करिब ७० लाखको बजेटमा नेपाली फिल्मका लागि ऐतिहासिक काम गर्न लागेका दीपेन्द्रले फिल्म बनाउन जति गार्हो छ चलाउन पनि त्यतिकै गार्हो भएको बताए । काम गर्न निकै गार्हो भए पनि त्यहि गार्होमा नै आफूले मज्जा लुट्ने दीपेन्द्र बताउँछन् । भन्छन्, 'मैले एउटा बाटो कोर्ने प्रयत्न गरेको छु पछि त्यो बाटोमा सबैलाई हिड्न सहज हुनेछ भन्ने मलाई बिश्वास छ ।' त्यति मात्र हैन नेपाली फिल्मको नयाँ दर्शक तान्नु पनि आफ्नो उद्देश्य भएको दीपेन्द्रले बताए ।
सस्पेन्स क्राईम थ्रीलर फिल्म 'भिजिलान्ते' मा सुवास थापा, प्रियंका कार्की, हर्षिका श्रेष्ठ, राज घिमिरे र नयाँ प्रस्तुतीको रूपमा ए गुरूङ अभिनयका लागि फाईनल भईसकेका छन् भने एक जना हिरोईन छनोट हुन बाँकी छ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिच्दैछन् । युनिटले केहि दिन अगाडी केहि सिन खिचेर प्रयोग गरि हेरिसकेको छ । थ्रीडी फिल्मको नेपाली बजार खासै नभएकोको अवस्थामा युनिटले फिल्म बनाई सकेपछि बजार पनि आफै खोज्ने बताएको छ ।