
सामाजिक सञ्जालले समाजमा पारेको सकारात्मक तथा नकारात्मक प्रभावको बारेमा चित्रण गरि निर्माण गरिएको फिल्म 'फेसबुक' यहि जुन १० तारिखका दिन कोरियामा प्रिमियर हुँदैछ । फिल्मको प्रिमियर समारोहमा सहभागी हुन निर्देशक सुरज सुब्बा, निर्माता सुनिल कुमार थापा र नायिका झरना थापा आज कोरिया प्रस्थान गरेका छन् ।
मध्यान्न १ बजेको थाई विमानको उडानबाट कोरिया प्रस्थान गर्नु पूर्व निर्माता थापाले मोरङ डाईनामिक कमिटीले फिल्मको प्रिमियर शो आयोजना गर्न लागेको बताए । उनले भने, 'जुन १० तारिखमा सियोलमा र १७ तारिखमा किम्हेमा शो हुँदैछ । झरना र म १७ तारिखसम्म कोरिया बस्छौ निर्देशक भने पहिलो शोमा सहभागी भएर फर्किहाल्नु हुन्छ ।' फेसबुक मार्फत भएको प्रेम र द्धन्दलाई उठान गरेको फिल्म नेपालमा भने साउन दोस्रो साता रिलिज गर्ने बताईएको छ ।
फिल्ममा राजेश हमाल, झरना थापा, स्वतन्त्रप्रताप शाह, सुवास थापा, विल्सनविक्रम राई, सुमन गैरे, अनुराग कुवँर, माटिन खान लगायतको अभिनय रहेको छ । निर्देशक सुब्बाले लेखेको सो फिल्ममा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा सुनिल बर्देवाको संगीत रहेको छ । फिल्मको सिंगापुर र काठमान्डौमा सुटिङ गरिएको हो ।