असार १ देखि देशब्यापी प्रदर्शनमा आउने भनिएको फिल्म प्लानको मोफसल रिलिज स्थगित गरिएको छ । भोलि देखि मोफसलमा सायद रिलिजका कारण अपेक्षित हल संख्या असार १ गते नपाउने भएकाले तथा सायदकै वितरक प्लानको पनि रहेकाले मोफसल रिलिज एक हप्ताको लागि स्थगित गरिएको प्रोड्यूसर कविता श्रेष्ठले जानकारी गराएकी छिन् ।
अर्को शुक्रबार देखि प्लान राजधानीका १२ वटा हलमा मात्र प्रदर्शनमा आउने छ भने असार ८ गते देखि मोफसलका ४० बढी हलमा यो फिल्म लाग्ने छ । 'दुवै निर्मातालाई घाटा लाग्ने देखिएकाले हामीले मोफसल रिलिज एक हप्ता पर सारेका हौ', प्रोड्यूसर श्रेष्ठले भनिन् । शोभित बस्नेत निर्देशित सो फिल्मको यस अघि विविध कारणले तीन पटक रिलिज हेरफेर गरिएको थियो ।
विशेषत यो फिल्डमा नयाँ अनुहार भएकाले पनि कविताले पूर्ण रुपमा फिल्मी बजार बुझ्न सकेकी छैनन् । अर्को कुरा उनलाई यो फिल्डमा भित्राएका निर्देशक शोभित बस्नेत जाउँ हिड पोखराको सुटिङमा ब्यस्त भएकाले पनि प्रोमोशन टाईममा उनको सहयोग कविताले पाएकी छैनन् । यसैगरी गत जेठ पाँचको रिलिजबाट असार १ धकेलिएपछी हिरो मुकेश ढकालले पनि कवितालाई प्लानको प्रोमोशनमा अब चाहेर पनि साथ दिन पाउने छैनन् किनकि लफडा भन्ने फिल्मको सुटिङका लागि मुकेश पर्सी आईतबार १० दिनका लागि चितवन जादैछन् ।

