वास्तवमा जीवन छोटो नै छ । भोली के हुन्छ भन्ने कुरालाई कसैले बुझ्न सक्दैन । मानिसको जीवनले कहिले कुन मोडमा बिश्राम लिन्छ भन्न सकिन्न । यस्तै थिममा रहेर यथार्थ कथामा 'सिक्स फिट लाईफ' नामको फिल्म बन्ने भएको छ ।
बिशेषगरी बिदेश पुगेर नेपालमा केहि गर्छु भनि फर्केका युवाहरूले केहि गर्न नसकेको पिडात्मक कथा र नेपालबाट बिदेशमा केहि गर्छु भनेर पुगेका युवाहरूले भोग्नु परेको दर्दनाक अवस्थालाई चित्रण गरि जगदिश्वर थापाले आफ्नै लेखनमा सो फिल्मको निर्देशन गर्दैछन् । केहि बर्ष अगाडी अमेरिकाको टेक्सासमा अकालमा आफ्नो ज्यान गुमाएका अशोक भट्टराईलाई पनि फिल्मले केन्द्रबिन्द् बनाएको छ ।
फ्रेण्डस इन्टरटेन्मेण्ट मुभिको व्यानरमा दिपेश दाहालले निर्माण गर्न लागेको सो फिल्ममा सुवास थापा, रागिनी खड्गी, शिशिर राणा, शुसिल पोखरेलको साथमा नवप्रस्तुतीको रूपमा श्रवण रेग्मी र आशिष्मा नकर्मीले अभिनय गर्दैछन् । यस्तै फिल्मका लागि एक अर्को प्रमुख नायिका पात्रको खोजी भईरहेको छ ।
९० % सुटिङ दाङमा गरिन लागेको जानकारी दिँदै निर्माता दाहालले भने, 'असार १० गतेबाट सुटिङमा जाने तयारी गरेका छौं ।' फिल्मको बाँकी सुटिङ बुटवल, पाल्पा र पोखराको आसपासका क्षेत्रमा पनि हुने उनी बताउँछन् । रेड क्यामेराबाट बाबु श्रेष्ठले फिल्म खिच्दैछन् भने संगीत शंकर थापा र बिनोद भुजेलको रहनेछ ।

