हरेक मान्छेले सपना देख्छ तर त्यो सपना पूरा गर्न आफैले मेहनत गर्नु पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएको फिल्म 'ॐ' यहि श्रावण १२ गते नेपालभरका थुप्रै सिनेमा घरमा प्रदर्शन हुने भएको छ । प्रदर्शनको मिती नजिकिंदै गर्दा निर्माण युनिटले प्रचारप्रसार शुरू गर्दै फिल्मीखबरमार्फत फिल्मको दुई अडियो गीत र पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक दुई गीत मध्ये शिर्ष गीतमा मदन गोपालको स्वर सुन्न सकिनेछ भने अर्को आईटम नम्बर गीतमा मनिषा पोखरेलको स्वर सुन्न सकिनेछ । दुबै गीतमा दिनेश सुनामले संगीत भरेका हुन् भने शब्द प्रमोद ढुंगानाको रहेको छ । फिल्म ग्याङस्टार कथामा बढि फोकस भए पनि सार्वजनिक पोस्टरमा भने झरना थापा र सुमन सिंहको रोमान्सलाई फोकस गरिएको छ । आखिरमा यस्तो किन भयो त भन्ने जिज्ञासामा प्रस्तुतकर्ता करण क्रेजीले भने, 'ग्याङस्टारमा पनि मायाप्रेमका कुरा हुन्छ भन्ने कुरालाई फिल्मले उठान गरेको छ ।'
रामजी लामिछानेले निर्देशन गरेको फिल्मलाई केआर इन्टरटेन्मेन्टको व्यानरमा राजेश खड्गी र भुपाल खत्रीले पनि लगानी गरेका छन् । फिल्मको कथा कमल दाहालले लेखेका हुन् भने संगीत दिनेश सुनामको साथमा बसन्त सापकोटाको पनि रहेको छ । यस्तै रोशन श्रेष्ठको द्धन्दनिर्देशन रहेको सो फिल्मलाई दुर्गा पौडेलले खिचेका हुन् । करियोग्राफी भने रामजी लामिछाने, मोहन प्रधान र सुमन लामाको रहेको छ । फिल्ममा झरना र सुमनको साथमा दिक्षा कुवँर, मोहन श्रेष्ठ, मिलन जोशी, दिल गुरूङ र एनबी महर्जनले पनि अभिनय गरेका छन् ।
अडियो सुन्न यहाँ क्लिक गर्नुहोला - http://www.filmykhabar.com/audio/





