हिरो सुमन सिंह र निर्देशक लक्ष्मण रिजालको सम्बन्ध कुनै समय निकै राम्रो थियो । विशेषत: वान डे भन्ने लक्ष्मणको फिल्म खेले यता सुमन र लक्ष्मणको राम्रै दोस्ती जमेको थियो । यति सम्मकी विना दर्ता धुवाँ भन्ने फिल्मको सुटिङ गरेपछी लफडामा परेका रिजालले सुमनलाई आर्यन सिग्देलको स्थानमा खेलाउने सहमति पनि गरेका थिए । जसका लागि सुमनले आफ्नो लुक्स बनाउन पाँच महिना खर्चिनु पनि पर् यो । तर उनीहरुको दोस्तीको सिक्का यसरी पल्टियो कि अहिले सुमन र लक्ष्मणको पानी बाराबार स्थिति छ भन्दा फरक पर्दैन । जसको प्रत्यक्ष नतिजा मंगलबार आयोजित एक प्रेस मिटमा छर्लङ्ग देखियो ।
आफूलाई खेलाउने भनिएको फिल्ममा आर्यन अनुबन्धीत भएपछी बढेको उनीहरुको असन्तुष्टी दुश्मनीमा परिणत भएको विभिन्न छनकबाट बुझ्न सकिन्छ । लक्ष्मण रिजालको टिम प्रति लछित गर्दै आक्रोसित शैलीमा सुमनले प्रेसमिटमा भने, 'त्यो फिल्मका लागि मैले पाँच महिना वर्कसपमा खर्चिएको छु त्यसैले पनि मेरो लागि धुवाँ झन च्यालेन्जिङ छ ।' विना दर्ता सुटिङ सुरु गरेकाले लक्ष्मणको धुवाँ टाईटल पूर्ण रुपमा विवादमा फसेको छ भने २०५६ सालमा दर्ता गरिएको धुवाँलाई सुमनको युनिटले मंगलबार औपचारिक कार्यक्रम गर्दै निर्माण घोषणा गरेपछी टाईटलका बिषयमा विवाद चर्कने निश्चित छ ।
'धुवाँ टाईटल हाम्रो आधिकारिक हो यसलाई अरु कसैले प्रयोग गर्न पाउने छैन प्रयोग गरे कानुनत लड्ने छौ । यसलाई हामीले कपि राईटसमा पनि दर्ता गरेका छौ', सो फिल्मको सल्लाहकार डब्बु क्षेत्रीले प्रेसमिटमा भने । रिजाल एण्ड रिजाल प्रोडक्सनले निर्माण गरेको आर्यन अभिनित फिल्मको नाम सम्भवत 'धुवाँ यो नशा' सम्पूर्ण लाईन एउटै फन्टमा राख्ने खबर छ यध्यपी चलचित्र बिकास बोर्डले यो बिषयमा कुनै निर्णय सो कम्पनीलाई दिएको छैन ।

सुमनले खेल्ने बैधानिक धुवाँमा प्रियंका कार्की लिड रोलमा छिन् । प्रियंकालाई पनि लक्ष्मणले फिल्ममा लिने बताएका थिए तर अन्तिम समयमा प्रियंका पनि सो फिल्ममा अटाईनन् । 'विवाद भन्दा पनि काम तिर ध्यान दिएर फिल्म खेल्ने पक्षमा छु म । बिषेशत सामाजिक सन्देश दिने खालको यो फिल्मको स्क्रिप्ट एकदमै राम्रो लागेको छ मलाई', प्रियंकाले प्रेसमिटमा भनिन् । फिल्मलाई मुभिज ईन्फिनिटी क्रियशन र सुमि ईन्टरटेन्मेन्टको संयूक्त लगानीमा निर्माण गर्न लागिएको हो ।
असार दोस्रो साता देखि सुटिङ सुरु गरिने सो फिल्मलाई संयुक्त रुपमा सौरभ ढकाल र निराजन पाण्डेले निर्देशन गर्नेछन् । नेपालमा पहिलो पटक संयुक्त फिल्म निर्देशन तिलहरीमा भएको थियो जसका निर्देशक बन्दी प्रधान र रेश राज आचार्य हुन् । त्यसपश्चात दुई फिल्मको पनि संयूक्त निर्देशन गरिएको फिल्म ईतिहास छ र लामो समय पछी पुनः दुई जना निर्देशकले एउटा फिल्म निर्देशन गर्न लागेका हुन् ।
लगानी किन गर्ने भन्ने बिषयमा यो फिल्मका प्रोड्यूसर मध्येका एक अरुण थापाले रंगीन चिजमा आफू पनि रंगीन हुन चाहेको भन्दै लगानी गर्न ईच्छुक रहेको बताए । यस अघि उनले 'द युग देखि युग सम्म' मा पनि लगानी गरेका थिए । निर्देशक मध्येका एक सौरभले गफ भन्दा काम नै गरेर देखाउने भन्दै कार्यक्रममा फिल्मको बारेमा खासै बोलेनन् । फिल्मलाई चपली हाईट खिच्ने क्यामेरापर्सन निरज कडेलले खिच्ने प्रेस मिटमा जानकारी दिईयो । यस्तै फाईट सुर्य थोकर र म्यूजिक सुरेश राईको रहने बताईएको छ ।
सुमन र प्रियंकाको अलवा हिमाल श्रेष्ठ, किरण लाकौल र विनिता घिमिरे पनि फिल्मका प्रमुख कलाकार हुन् । टाईटल लफडाले विवाद निम्त्याउने पूर्व अनुमान लगाउदै चलचित्र पत्रकार संघका उपाध्यक्ष प्रदीप निरौलाले दुवै फिल्मलाई एउटै नाममा हल पुर्याउने बिषयमा सम्बन्धीत पक्षको ध्यानाकर्षण हुन जरुरी रहेको औल्याए । यसैगरी संघका निवर्तमान अध्यक्ष शान्तिप्रियले पब्लीसिटीको बहानामा तनाव उत्पन्न नहोस भन्ने तर्क गरे ।

