
दिलमाया फिल्मबाट पार्श्वसंगीतमा हात हालेका अर्जुन पोखरेल अहिले निर्माताको रोजाईमा परेका संगीतकार मध्येका एक हुन् । हुनत उनले संगीत भरेका दुई फिल्म दिलमाया र भनिदेउ न माया गर्छु मात्र रिलिज भएका छन् तर रिलिज हुन बाँकी भने एक दर्जन भन्दा बढि फिल्म छन् ।
रिलिज हुन बाँकी थुप्रै फिल्म रहे पनि अर्जुनका तीन मुख्य फिल्म भाद्र महिनामा रिलिज हुँदैछन् जसले गर्दा उनी अहिले निकै उत्साहित छन् । उनी भन्छन्, 'मैले गरेका काम मध्ये आश गरेका तीन फिल्म मेरो जीवन साथी, बिन्दास र ब्ल्याक मेल भाद्र महिनामा नै रिलिज हुँदैछन् । कस्तो प्रतिक्रिया आउँछ भन्ने उत्सुकता मनमा छ ।' चन्द्रावती, कस्लाई आफ्नो भनुँ, बर्सात, एक से एक, भेंडिगोठ जस्ता फिल्म रिलिजको तयारीमा रहेको बताउँदै अर्जुनले काजल, साथ, टाईम, मै राम्री, मिस्टेक जस्ता फिल्मको हाल गीत रेकर्डिङ कार्य भईरहेको बताए ।
फिल्म दिलमायाको 'छुट्छ कि साथ...' र भनि देउ न माया गर्छुको 'माया मेरो फुल थियो...' निकै चर्चामा आएको गीत हो । यस्तै उनले भाद्र महिनामा रिलिज हुन लागेका उल्लेखित फिल्ममा गीत पनि निकै हिट हुने दाबी गरे । सो फिल्मका गीतहरूलाई फिल्मीखबरले रिलिज गर्नेछ ।