
बुधबारबाट सञ्चार माध्यममा बज्न थालेको फिल्म हाइवेको पप्लु गीतलाई निर्माण टिमले आज साँझ ७ बजे पाटन दरवार स्क्वाएरमा सार्वजनिक प्रदर्शन गर्दैछ ।
सर्वसाधारण दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिनका लागी युनिटले सार्वजनिक प्रदर्शन गर्न लागेको फिल्मीखबरलाई जानकारी गरायो । नायिका ऋचा शर्माले गरेको उक्त आईटम डान्सलाई बिग स्क्रिनमा सार्वजनिक गर्न लागिएको बताउँदै युनिटले सबैलाई हेर्न आउन आग्रह पनि गरेको छ । यो गीत हेरेर नायिका ऋचाले डान्स गर्न आउँदैन भन्ने प्रतिक्रिया पाएको युनिटले खण्डन गर्दै लेखेको छ -
"साथीहरू तपाईंहरू मध्ये कतिलाई पप्लुमा रिचाजीको डान्स राम्रो लागेको छैन् । जुन कुरा सही हो । डान्स राम्रो नभएकै हो । तर रिचाजीले नाच्न नजानेर नराम्रो भएको होईन्, हाम्रो ईन्टेसन नै डान्स राम्रो नदेखाउने नै हो । किनभने यो गीत अहिले चलन चल्तीको "आईटम" डान्स होईन । काठमाडौंका बारहरूमा नाच्ने रेगुलर गीत जस्तो बनाउन खोजेको हो हामीले । फिल्म चलाउनको लागि प्रयोग गरिने "आईटम नम्बर"को रूपमा हामीले यो गीत चलचित्रमा राखेको छैन । यसको केहि अंश मात्र रिचाजीले खेल्नु भएको चरित्र कवितालाई चिनाउन प्रयोग गरिएको हो ।"
यस्तै फिल्मको निर्माण युनिटले रिलिज मिती नजिकिंदै गर्दा आफ्नो प्रचार प्रसारलाई तिब्र पार्दै कलेज क्याम्पियन पनि शुरू गरेको छ । राजधानीका कलेजहरूमा पुगी फिल्मको बारेमा अर्न्तक्रिया गर्नुका साथै बन्द हडतालको बारेमा बिधार्थीको अनुभव साट्ने काम हाइवे टिमले गरिरहेको छ । युनिट अहिले सम्म नेश्नल, मदनभण्डारी, स्मार्ट क्लब, मोडल, निम्स जस्ता कलेजमा पुगिसकेको छ भने आज नै एनआईसी कलेज पनि जाँदैछ ।
श्रावण ५ गते नेपालभर एकसाथ प्रदर्शन हुन लागेको सो फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । बन्द र हडतालको बिषयमा केन्द्रित रहेर फिल निर्माण गरिएको हो । सौगात मल्ल, कर्म, दयाहाङ राई, राजन खतिवडा, विनय श्रेष्ठ, आशा मगराती, सृष्टि घिमिरे, ऋचा शर्मा, रबिन्द्र मिश्र अभिनित सो फिल्मलाई आदी प्रोडक्सन र अमेरिकाको लुभर्चर फिल्मसको सहकार्यमा लोनिम दीक्षित, समीरमणि दीक्षित र मिता होसालीले निर्माण गरेका हुन् ।