
बन्द र हडतालले गर्दा फ्रिज भएर बसेका फिल्महरू धमाधम रिलिज हुँदैछन् र हरेक साता कम्तिमा पनि दुई वटा फिल्म रिलिज भएका छन् र हुनेवाला पनि छन् । आउँदो शुक्रबार भने ४ फिल्महरू एकसाथ भिड्ने तयारी गरेका छन् ।
डान्स बारमा काम गर्ने युवतीहरुको यथार्थ कथालाई आधार मानेर निर्माण गरिएको भनिएको फिल्म 'नाईट क्विन' पनि जेष्ठ २६ मा रिलिज हुने तयारीमा छ । सेन्सर बोर्डले वयस्क फिल्मको प्रमाण पत्र दिएको 'नाईट क्विन' लाई आरबि खत्री 'शरद' ले निर्देशन गरेका हुन् भने निर्माता बिबि बुढाथोकी 'नबिन' हुन् । फिल्ममा महानायक राजेश हमालले बार गर्लको बारेमा रिसर्च गर्दै नाईट क्विन पुस्तकको लेखकको भुमिका निर्वाह गरेका छन् भने कल्पना शाही, ज्योत्सना भट्ट, उषा खरेल नाईट क्विनका मुख्य महिला पात्र हुन् । यस्तै फिल्ममा हसन खान, शान्ति गिरी, निर्मल सेन्चुरीको पनि अभिनय रहेको छ ।
रोयल क्राउन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको 'द्रव्य' ले आफ्नो रिलिज डेट सारेर जेष्ठ २६ फाईनल गरेको हो । गलत क्रियाकलापमा लाग्नुको मुख्य कारण पैसा नै हो र क्यासिनोमा लाग्नेहरूले दुःखपुर्ण जीवन बिताउन बाध्य हुनुपर्छ भन्ने मुख्य सन्देश सन्देश दिने मनोरञ्जनात्मक यस फिल्मलाई मार्कण्डेय दीपविमले निर्देशन गरेका हुन् । फिल्ममा बिराज भट्ट, असोक फुयाँल, अनुपविक्रम शाही, अमित पोखरेल, उत्सव शाह, अनु शाह, कल्पना शाही लगायतले अभिनय गरेका छन् । गोरखा, पोखरा, काठमान्डौ र मकवानपुरमा छायाँकन गरिएको फिल्मलाई जेबी कार्कीले निर्माण गरेका हुन् ।
यस्तै क्यू सिस्टमबाट २६ गते नै अर्को फिल्म जीन्दगानी दर्पणछायाँ लाग्नेछ । श्रीनगर फिल्मस प्रालिको व्यानरमा मनिष पन्थले निर्देशन गरेको सो फिल्ममा दिलीप रायमाझी, नन्दिता केसी, सन्तोष अग्रहरि र रजनी प्रधानको मुख्य अभिनय रहेको छ । गत बैशाख २९ गते काठमाण्डौमा मात्र प्रदर्शन भएको सायद २६ गतेबाट राजधानी बाहिरका हलमा लाग्नेछ ।