
हेटौंडामा निर्मित नयाँ फिल्म हल ओ म्याक्स शुक्रबारबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । फिल्म हेर्नको लागी एउटा मात्र हल रहेको मकवानपुर जिल्लामा ओ म्याक्स शुभारम्भ पछि अब हेटौंडामा दुई वटा फिल्म हल सञ्चालनमा आएका छन् ।
एक महिना अघि निर्माण सम्पन्न भई पटक पटक परिक्षण गरिएको यो फिल्म हलमा कुनै पनि समस्या र कमजोरी नभेटिएकाले हललाई आजबाट दर्शकहरुको लागी सञ्चालनमा ल्याउने तय गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए । हल सञ्चालनमा आएपछि पारिबारिक रुपमा स्तरिय फिल्म हेर्न पाईने हुँदा यहाँका फिल्म प्रेमी दर्शकहरु खुसी छन् । तीन करोड लागतमा निर्माण गरिएको ओ म्याक्स हल ८ कठ्ठा क्षेत्रफलको जमिनमा रहेको छ भने ४ सय ३१ जनाको सिट संख्या रहेको हलमा तिन किसिममा बर्गीकरण गरिएका प्लाटिनम, गोल्ड र सिल्भर सिटहरु रहेको संचालक नरेन्द्र महर्जनले बताए ।
सम्पूर्ण डिजिटल सिस्टममा निर्माण भएको ओम्याक्स फिल्म हल काठमाडौंको सिभिल महलको जस्तै क्युएफएक्स ब्राण्डेड प्रविधि र डिजाइन रहेको सञ्चालक महर्जनको भनाई छ । काठमाडौंको जय नेपाल हलमा भए जस्तै व्यवस्थापन रहने यस हलमा कम्प्युटरबाट टिकट सिस्टम, इन्टरनेटबाट टिकट बुकिङ गर्ने लगायतका सुविधा रहने छ भने हिन्दी फिल्मको शोलाई साताको दुई तरिकाले टिकट सिष्टम बनाईएको छ ।
बिशेष गरी फिल्म रिलिजको दिनमा धेरै दर्शकहरुको भिडभाड रहने हुँदा टिकट दरलाई साताको दुई किसिमले तय गरिएको छ । जसमा हिन्दी फिल्म हेर्ने दर्शकहरुको लागी शुक्रबार, शनिबार र आईतबारका दिन प्लाटिनम, गोल्ड र सिल्भर स्थानका लागी क्रमश: दुई सय पचास, दुई सय र एक सय पचास रुपैया टिकट दर निर्धारण गरिएको छ भने अन्य दिनका लागी दुई सय, एक सय पचास र एक सय निर्धारण गरिएको छ । यस्तै यस फिल्म घरमा स्तरिय नेपाली फिल्म पनि प्रर्दशन गरिने बताईएको छ ।
दैनिक तिन शो र शनिबार चार शो सञ्चालन हुने यस हलमा नेपाली फिल्मको हकमा भने स्तरिय खालका नेपाली फिल्महरुले मात्र प्रर्दशन स्थान पाउनेछन् भने नेपाली फिल्म हेर्नको लागी प्लाटिनम, गोल्ड र सिल्भर स्थानमा क्रमश दुई सय, एक सय पचास र एक सय निर्धारण गरिएको छ । एसी सहितको सिमित दर्शक यो फिल्म हलमा फिल्म हेर्न सक्ने संचालकको भनाइ छ । १५ जनालाई रोजगार दिइने यो हलमा शिक्षित प्राविधिक तथा टिकट काउन्टर रहने समेत जानकारीमा आएको छ ।
सम्पूर्ण सुविधा युक्त बनाइने यो हलसंगै पुरानो ओम हललाई अझ मर्मत सम्भार गरी दर्शकहरुलाई हलसम्म आउने वातावरण बनाइने सोच रहेको संचालक महर्जनको भनाइ छ । दुबै हलमा भिन्न भिन्न फिल्म प्रदर्शन गराइने हुँदा फिल्म हेर्ने दर्शकको संख्या अझ बढ्नेमा आशा बोकेका हल संचालक दर्शकको चाहना बुझेर हिन्दी नेपाली दुबै फिल्म प्रदर्शन गरिने बताए । दर्शकको सहभागिता अनुसार दुबै हलमा एउटै फिल्म एकै पटक हेर्न सकिने प्रविधि समेत बनाइएको ओ म्याक्समा प्रायजसोः ठूला र स्तरीय फिल्म मात्र प्रदर्शन गरिने बताइएको छ ।
२०४४ सालमा ओम सिनेमा नामको फिल्म हल बने पश्चात मकवानपुर जिल्लामा २ वटा सिनेमा हल भए पनि फिल्मको खस्कदो बजार र देशको नाजुक अवस्थाले मकवानपुरमा रहेको देबी सिनेमा हल बन्द भएको थियो । २५ बर्षदेखि एउटै कुर्सी, एउटै लोकेशनबाट फिल्म हेरिरहेका दर्शकहरुलाई नयाँ टेस्ट दिन बनाइएको मोफसलको पहिलो ठूलो सिनेमा हल ओ म्याक्सले दर्शकहरुलाई स्वाद चाखीचाखी फिल्म हेर्ने धोकोलाई पूरा गर्नेमा संचालक आशावादी छन् ।