
२६ दिन देखि निकै ब्यस्त रहेकी हिरोईन विनिता बरालले फुर्सद पाएकी छिन् । पहिलो फिल्म चपली हाईटको ५२ दिने सक्केस पार्टीमा उपस्थित हुन नसक्दै सोही दिनबाट नयाँ फिल्म फुलस्टपमा ब्यस्त भएकी उनी बिहिबार साँझबाट फ्रि भएकी हुन् ।
नगरकोट हुदै गोरखा र काठमाण्डूमा सुटिङ गरिएको उनको दोस्रो फिल्म फुलस्टपको बिहिबार साँझ काठमाण्डू मलमा अन्तिम दृश्य खिच्दै प्याकअप गरियो । कमलकृष्णको निर्देशन रहेको सो फिल्मलाई माता मनकामना फिल्मसको ब्यानरमा मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले निर्माण गरेका हुन् । 'अत्यन्त सहज ढङ्गले फिल्मको सुटिङ सक्यौं साहै रमाईलो पनि भयो त्यसैले सम्भवत दशैं सम्म दर्शकको माझ फिल्म पुर्याउने छौं', ईन्डक्ल्याप पश्चात दर्जनौं सञ्चारकर्मीको माझ कमलकृष्णले भने ।
यस्तै विनिताले पहिलो फिल्म चपली हाईट पनि २४ दिन भित्रमा सकिएको सम्झदै यो फिल्मको सुटिङ पनि संयोगले उत्तिकै मितिमा सकिएको भन्दै चपली हाईटको झझल्को आफूलाई आएको बताईन् । 'हामी त निकै लक्की रहेछौं बन्दको बाबजुत पनि सुटिङ रोकिएन । अब भने केही दिन पुरै रेष्टमा रहने छु', हर्षित मुद्रामा उनले भनिन् । फुलस्टप थकाई मेटिने वित्तिकै उनी म्यारी मि भन्ने फिल्ममा ब्यस्त हुने छिन् । त्यसपश्चात अन्य दुई फिल्ममा ब्यस्त रहने उनले बताईन् । तर ती प्रोजेक्ट कुन मेकरको हो त्यो भने तत्काल भन्न नमिल्ने उनले बताईन् ।
फुलस्टपमा विनिताको अपोजिटमा सविन श्रेष्ठ छन् । अन्दाज डेब्यू हिरो सविनले फुलस्टप अघि रेखासंगै बर्षात भन्ने फिल्ममा खेलेका थिए । निरन्तर दुई वटा फिल्मको सुटिङबाट बल्ल फ्रि भएका उनी पनि एक महिना पुरै रेष्टमा बस्ने छन् । त्यसपश्चात मात्र अफर आएका फिल्म खेल्नको लागि तयार हुने उनले बताए ।