
फिल्म आमसंचारको एउटा अभिन्न अंग हो । आमसंचारको अन्य माध्यमसंगै यसले पनि मनोरन्जनात्मक तरिकाले समाजको चित्रण गर्ने काम गर्छ । समाजलाई सहि दिशा तर्फ डोर्याउनका लागी फिल्मले पनि महत्वपुर्ण भुमिका खेल्छ । तर पछिल्लो दिनहरुमा नेपाली फिल्मले समाजलाई खराब दिशातर्फ डोर् याउन खोजेको आरोप खेप्दै आएको छ ।
छाडा दृश्य छाडा डाईलग र छाडा जीवनशैली देखाउन थालिएको नेपाली फिल्म उद्योग कुन दिशा तर्फ जाँदैछ भन्ने चिन्ताले फिल्मकर्मीहरुलाई सताउन थालेको छ । छाडा दृश्य र डाईलगले भरिपुर्ण नेपाली फिल्म 'द लास्ट किस' सेन्सरमा थुप्रै दृश्यहरु काटिएपछि मात्रै प्रदर्शनमा आउन पायो । त्यो पनि १६ वर्ष भन्दा मुनीका दर्शकका लागी बन्देज लगाएर मात्रै । 'द लास्ट किस' को चर्चा सेलाउन नपाउँदै अर्को एउटा फिल्मले यु ट्युबमा आफ्नो प्रोमो फाल्यो । फिल्म 'एटिएम' ले बनाएको प्रोमो हेरेर सबै दर्शक अवाक भए ।
यता एटिएमको चर्चा शुरु नहुँदै शुटिङ फ्लोरमा रहेको अर्को एउटा फिल्मका निर्देशकले आफ्नो फिल्ममा 'एटिएम' मा भन्दा दोब्बरको संख्यामा यस्ता बोल्ड दृश्य र डाईलग भएको बताएका छन् । शुटिङ भैरहेको फिल्म 'बिन्दास' का निर्देशक राजु गिरीले फिल्मको कुनै दृश्यमा पनि सम्झौता नगरिएको बताए । अंग प्रर्दशन, किस सिन, बेड सिन खुलेर दिनकै लागी आफुले फिल्ममा नायिका सुस्मा कार्कीलाई महँगो रुपैँया तिरेर अनुबन्धन गरेको उनले खुलाशा गरे ।
यसरी कसले आफ्नो फिल्मलाई बढि सेक्सी बनाउने भन्ने प्रतिस्पर्धामा उत्रिएपछि केहि निर्देशकहरु अहिले यसको खुलेरै विरोध गर्न थालेका छन् । यस्ता फिल्म शुटिङ र प्रदर्शन रोक्नका लागी उनीहरुले विकास बोर्डसम्म ढक्ढकाएका छन् । फिल्मको स्तर बृद्धिको नाममा छाडापन रोक्नुपर्ने उनीहरुको जोड छ । निर्देशक रामराजा दाहाल पनि यो समुहको एउटा सदस्य हुन् ।
'हामीले नेपाली फिल्मलाई डुब्नबाट जोगाउनका लागी विरोध गरेका हौँ ', निर्देशक रामराजा दाहाल भन्छन्- 'जसले जे मन लाग्यो त्यहि गरेर उद्योगलाई बर्बाद पार्नु त भएन नी ।' सेक्स ओरिएन्टेड फिल्म बनाएर नेपाली फिल्म उद्योगलाई ब्लु फिल्म उद्योग बनाउन उद्यत हुनेहरुलाई पाखा लगाउनुपर्ने उनको विचार छ । 'यदि छाला नै बेच्ने हो भने त एउटा गतिलो वेश्यालय खोले भैहाल्यो नी', यस्ता फिल्म प्रति आक्रोश पोख्दै उनी भन्छन्- 'फिल्ममा लगानी गरेर उद्योगलाई किन बर्बाद गर्नु ?' फिल्ममा छालाको व्यापार गर्ने नराम्रा प्रबृत्तिका मानिसहरुले राम्रा सोँच र शैली भएका फिल्मकर्मीहरुलाई पनि खाडलमा घचेट्ने प्रयास भएको उनले बताए ।