
अत्याधिक बढेको गर्मीको कारण सर्लाहीको लागि तय गरिएको सुटिङ स्थगित गर्दै जाउँ हिड पोखराको युनिट पोखरा मुभ भएको छ । गत जेठ ११ गते देखि काठमाण्डूका विभिन्न ठाँउमा सुटिङ हुँदै युनिट बुधबार पोखरा पुगेको हो । 'अत्याधिक गर्मी भएकाले सर्लाही सुटिङ स्थगित गर्दै पोखरा आएका हौं । यहाँ तीन हप्ता बस्छौं अनि जोमसोम जान्छौं र अन्त्यमा मात्र सर्लाही', निर्देशक शोभित बस्नेतले भने ।
'शुक्रबारदेखि सारङकोटको लोकेशन छ त्यसैले तयारी तिब्र छ', शोभितले पोखराबाट फोनमा भने । निकै मिहिनेत गरेर आउटपुट राम्रो निकाल्ने कसरतमा लागेका शोभितले भने, 'सम्भवत मेरो अन्तिम निर्देशन रहने यो फिल्म त्यसमाथि पनि पच्चिसौ भएकाले दिनको ३ सिन भन्दा बढी खिचेको छैन ।' यस अघि २४ औँ फिल्म सम्म आईपुग्दा उनले दिनको १० सिन सम्म सुटिङ भ्याउने गरेका थिए जसकारण फिल्मको आउटपुट त्यति राम्रो नआएको उनको पनि स्विकारोक्ति छ । मेसिन निर्देशकको ट्याग त पाएका तर पर्याप्त क्वालिटी दिन नसक्ने शोभितले जाउँ हिड पोखराले एक किसिमको रेकर्ड राख्ने विश्वास ब्यक्त गरेका छन् ।
फिल्मलाई उनकै होम प्रोडक्सन कम्पनी सलोन फिल्मसको ब्यानरमा निर्माण गरिएको हो जसको लगानीकर्ता पनि शोभित नै रहको बताईएको छ । रेखा थापा र जीवन लुईटेल भएका कारण पनि शोभितलाई यो फिल्म उत्कृष्ट बनाउने चुनौति थपिएको छ । यस्तै फिल्मलाई उत्कृष्ट क्वालिटी निकाल्न उनले रेड क्यामेरा प्रयोग गरेका छन् । विशेषत यो फिल्म किन उत्कृष्ट हुने छ त ? फिल्मीखबरको प्रश्नमा शोभितले भने, 'मुख्यत मेरो फिल्मको बजेट ७० लाख छ त्यसमाथि पनि रेखाको जीवनीमा आधारित २० प्रतिशत कथा भएकाले पनि फिल्म उत्कृष्ट बनाउने कोसिसमा छु ।' फिल्ममा रेखा र जीवनका अलावा आरुष , जिके शर्मा लगायतको अभिनय रहनेछ । फिल्मलाई गणेश कुमार श्रेष्ठले खिचिरहेका छन् ।