संस्थालाई वेवास्ता गरेको तथा आर्थिक बिषयमा पारदर्शिता नभएको भन्ने आरोप खेप्दै दुई साता अघि कार्यसमितिको बैठकबाट कारबाहीमा परेका चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङको विकल्प खोज्न आउँदो असार ९ गतेका लागि साधारणसभा डाकिएको छ ।
बुधबार बसेको संघको कार्यसमितिको बैठकले असार ९ गते शनिबारका लागि साधारणसभा डाक्दै सोही बैठकबाट अध्यक्ष परिवर्तनको सम्बन्धमा अन्तिम टुङगो मतदानबाट लगाउने बिषयमा निर्णय गरेको हो । बैठक पश्चात फिल्मीखबरसंग कुरा गर्दै महासचिव अनन्त तिमिल्सनाले भने, 'अध्यक्ष ज्यू प्रति लागेको आर्थिक प्रश्नमा उहाँले ३४ हजारको हिसाव बुझाउनु भएको छ तर नेतृत्व परिवर्तन हुने नहुने सोही साधारणसभाले टुङ्गो लगाउने छ ।' तामाङले आउदो जेठ २८ गतेको मितिमा चेक साट्ने गरी आर्थिक आरोप क्लियर गरेको तिमिल्सनाले बताए ।
दुई साता अघि बसेको संघकॊ बैठकबाट अध्यक्ष तामाङलाई कुनै पनि फिल्मी कार्यक्रममा अध्यक्षको हैसियतमा सहभागी हुन नदिने निर्णय सहित उनी विरुद्ध अविश्वासको प्रस्ताव कार्यसमितिमा लगिएको थियो । जुन बिषयले संघ भित्र पदको बिषयमा ठूलो राजनीति खिचातानी सुरु गराईदिएको छ ।