
कत्रो आश थियो संविधान आउला भन्ने तर नेपाली जनताले गरेको यो आशा एकाएक चकनाचुर भयो । संघर्ष त्याग र बलिदानीबाट स्थापना भएको संविधान सभा जो संविधान बनाउनका लागी थियो त्यहि दिन भङ्ग भयो जुन दिन नेपालीहरुले देशमा नयाँ संविधान आउँछ भनेर बसिरहेका थिए । संविधानसभा भङ्ग भएर संविधान नबन्ने भएपछि जनतामा अहिले निराशा छाएको छ । देश अन्यौलताको भड्खालोमा अझै बेसरी फँसेको छ ।
चार वर्ष सम्मको राजनीतिक लगानी, अर्बौ रकमको नोक्सानी र सबै भन्दा ठुलो नेपाली जनताको सपनाको निधन हुँदा नेपाली जनतासंगै यतिबेला नेपाली फिल्मकर्मीहरु पनि निराश छन् । संविधान सभा भङ्ग हुनुलाई नेपाली फिल्मकर्मीहरुले कसरी लिएका छन् त ? र, अब कत्तिको आशा छ फेरी संविधान बन्ने ? भनेर हाम्रा सहकर्मी संजोग बस्यालले विग एफएम र फिल्मीखबर डटकमका लागी केहि फिल्मकर्मीहरुलाई सोधेका थिए ।
राजेश हमाल :
सबै नेपाली जनताको भावना ममा पनि छ । सबैतिर निराशा छाएको छ, दलहरुले जनतालाई धोका दिएका छन् त्यो धोका पाउने एक जनामा म पनि पर्छु । र, राजनीतिक दृष्टिकोणले देश अन्यौलता तर्फ धकेलिएको मैले महशुस गरेको छु । विभिन्न काल खण्डमा नेपाली जनताले लोकतन्त्र र लोकहितका लागी बन्ने संविधानका लागी जनताले बलिदानी त्याग र पिडा सहेका छन् । जुन कुराको लागी वर्षौदेखि नेपाली जनता आफ्नो ज्यानको बाजी लगाएर लड्दै आएका थिए त्यहि कुरा नहुँदा सबै नेपाली मर्माहत भएका छन् । मलाई पनि संविधान सभा नबनेर भङ्क हुँदा निकै दुख लागेको छ । मलाई के महशुस भएको छ भने देश दिशा विहिन र नेतृत्व विहिन अवस्थामा रहेको छ । यद्यपी आशा मार्नु हुँदैन । नेपाललाई बनाउने हामीले काँधमा काँध मिलाएर नै हो त्यसैले निराश भैहाल्नु पर्ने स्थिती पनि हैन ।
आकाश अधिकारी :
वास्तवमा के छ भने यो कुराले हाम्रा राजनीतिक दलहरु सक्षम छैनन् भन्ने कुरालाई प्रस्ट रुपमा देखाएको छ । यस्ता असक्षम नेताहरुलाई संविधान बनाउनका लागी चुनेर पठाउने गल्ती हाम्रै हो । अबको दिनमा यो कुरालाई दिमागमा सबैले घुसाउनु पर्ने मैले देख्छु । नेता छान्दा सानातिना लोभलालचमा परेर हामीले आँखा चिम्लेर छान्यौँ उनीहरुको खुबी कति थियो भन्ने कुरालाई हामीले वास्ता गरेनौँ र नै त यो दिन आएको हो । यी नेताहरु असक्षम हुनु भनेको हाम्रै कारणले हो । काम गर्न नजान्ने तर गफ मात्रै हान्नेलाई संविधान बनाउन दिएपछि यो भन्दा अर्को के हुन सक्छ ? अबको दिनमा हुने निर्वाचनमा हामी सचेत बन्न आवश्यक छ । हामीले कस्तो नेतालाई नेतॄत्व तहमा पुर्या उँदा के हालत आईपर्यो भन्ने कुरालाई मध्यनजर गरि त्यसै अनुरुप नयाँ नेतृत्व चयनका लागी अगाडी बढ्नुपर्छ ।
आर्यन सिग्देल:
संविधान बनिसकेपछि देशका सम्पुर्ण क्षेत्र सहित चलचित्र क्षेत्रमा पनि केहि परिवर्तन आउला भन्ने मेरो मनमा थियो । सहज रुपमा काम गर्न पाईएला, देशमा शान्ति सुरक्षाको व्यवस्था होला, रोजगारी बढ्ला, यद्यपी मेरो मनमा यी नेताहरु प्रति त्यति विश्वास थिएन किनभने जो मान्छेले बढि गफ दिन्छ त्यसले काम गरेर देखाउँदैन । भयो पनि त्यस्तै जनताको संविधान बनाउन पुगेका दलहरु आपसमा आ-आफ्ना सरकार बनाउँदैमा चार वर्ष विताए । अन्तमा आफ्नो स्वार्थको लागी कुरा मिलेन र भङ्ग गर्दिए संविधान सभा । फेरी निर्वाचनमा जाने कुरा आएको छ त्यति धेरै ठुलो आशा त छैन तर जहिले संविधान बने पनि देश कहिल्यै नटुक्रियोस् जनताको मन नटुक्रियोस् शान्ति छाओस् त्यहि नै हो मेरो आशा ।
रेखा थापा:
यो त एकदमै नराम्रो भयो । जनताले संविधान बनाउनका लागी चुनेर पठाएका सभासद्हरु पटक पटक संविधान सभाको म्याद थप्दै चार वर्षसम्म आपसमा बाझेर बसे तर जनताले भने जस्तो केहि गरेनन् । जेठ १४ को अन्तिम प्रहरसम्म पनि हामी संविधान बन्ने आशामा ननिदाई बसेका थियौँ यद्यपी त्यहि नाटक फेरी मंचन भयो, आपसमा कुरा मिलेन र संधिवानसभा भंग भयो । आशा क्षण भरमै निराशामा बद्लिँदा कत्रो सपना साँचेर बसेकी मलाई त्यतिबेला साह्रै नरमाईलो लागेको थियो । यद्यपी फेरी चुनावी प्रकृयामा जाने र संविधान निर्माणका लागी जनादेश मान्ने भन्ने दलहरुको जुन निर्णय छ त्यसका लागी जनताले निकै विचार पुर्यािउनुपर्ने देखिन्छ । कस्तो दललाई जनादेश दिँदा राम्रो हुन्छ भन्ने कुरा जनताले बुझेर मात्रै निर्वाचनमा सहभागी बन्नुपर्छ जस्तो लाग्छ मलाई ।
राजवल्लभ कोईराला:
यो एउटा ऐतिहासिक माहौल थियो । संविधान लेखिएको भए जेठ १४ लाई ईतिहासमा निकै सुनौलो तरिकाले लेखिन्थ्यो । ईतिहासले यी सबै दल नेता र सभासद्हरुलाई निकै मान्थ्यो पनि किनभने उनीहरुकै सक्रियतामा नेपालमा लोकतान्त्रिक संविधान आएको हुन्थ्यो । तर एकदमै हाम्रो आशा चाहिँ निराशामा बद्लिएको छ । राजनीतिक आर्थिक सामाजिक साँस्कृतिक पक्षहरु अन्यौलतामा गुज्रिरहेको बेलामा संविधान नबन्दा हामी अझै बढि अन्यौलता तर्फ धकेलिएका छौँ । जे भयो नी त्यो जनताले सोँच्दै नसोँचेको भयो । केहि गर्छन् कि भन्ने आशा एकाएक निराशामा बद्लिँदा जो कोहिलाई पनि आघात पुग्छ जसरी मलाई त्यस्तै भएको छ ।
सुरेशदर्पण पोखरेल:
एक जुगमा एक दिन एक पटक मात्रै आउने कुरा हो संविधान । लाखौँ जनताको त्याग र बलिदानीले संविधान सभा आएको थियो । तर यो कुराको गाम्भिर्यतालाई नेताहरुले बुझ्न चाहेनन् । पटक पटक म्याद थप्दा पनि अन्तिम अवस्थामा आएर यत्रो सघर्ष गरेर ल्याईएको संधिवान सभा विघटन गर्नु परेपछि यसलाई ठुलो दुर्भाग्यको रुपमा मैले लिएको छु । यो सबै नेताहरुले देश र जनताप्रति गरेको वेवास्ताको परिणाम हो । यी नेताहरुबाट आशा गर्न सकिने अवस्था हराएको छ यो भन्दैमा निराश भैहाल्नुपर्ने अवस्था पनि होईन । यो पुरानो सोँच भएका दल र नेताहरुलाई पाखा लगाएर नयाँ नेतृत्वलाई अबको नयाँ नेपालको लागी अवसर दिनुपर्छ । कुनै दल जाति र धर्म विशेषको झण्डामुनी नरहेर राष्ट्रको झण्डामुनी बसेर नयाँ नेपाल बनाउने सोँच भएका युवा पुस्ता अबको नेतृत्व तहमा पुगेपछि केहि हुने आशा गर्न सकिन्छ ।
केकी अधिकारी:
सबैभन्दा ठुलो कुरा त आर्थिक रुपमा कमजोर हाम्रो मुलुकमा चार वर्षसम्म सभासद्हरुले बिना काम रजाई गरे । देशको ढुकुटी सकाए र अन्तमा संविधान सभा भङ्ग गरेर देश र जनतालाई अन्यौलतामा फँसाए । अब फेरी निर्वाचन प्रकृयामा गएर संविधान बनाउन्जेल सम्म फेरी त्यो भन्दा बढि खर्च नलाल्ला भन्न सकिन्न । त्यसैले नेताहरुले देशलाई गरिब र जनतालाई ऋणको भार थोपर्ने काम गरे । अब फेरी त्यसो नहोस् भन्नका लागी जनताले अहिल्यैदेखि दल र नेताहरुलाई खबरदारी गर्नुपर्ने देखिन्छ । होईन भने जनतालाई ठगेर खान पल्केका यी नेताहरुले फेरी पनि उहि नाटक नदोहोर्यानउलान् भन्न सकिन्न ।