
देशको राजनीतिले नेपाली फिल्म उधोगलाई ठूलै प्रभाव पारेको छ । केहि दिन अगाडी भएका बन्द हडतालले फिल्म रिलिजलाई पर पर धल्केदै लग्दा निर्माताहरूको खर्च पनि दिन प्रतिदिन बढ्दो छ । करिब एक महिनाको बन्दले गर्दा दर्जन भन्दा बढि फिल्मले आफ्नो रिलिज डेट पोष्टपोण्ड गरे ।
यहि क्रममा क्यू प्रणालीबाट रिलिज हुन लागेका फिल्महरू पनि धकेलिएका छन् । तिनै धकेलिएका फिल्म मध्येको एक 'किन लाग्छ माया' पनि हो । रिलिज डेट करिब एक महिना पर धकेलिए पछि चिन्तित भएका निर्माता शक्तिबल्लभ घोरासैनीले फिल्मीखबरसँग कुरा गर्दै भने, 'जेष्ठ १९ गतेबाट फिल्म लाग्ने भनेर सञ्चारमाध्यममा प्रचारप्रसार गरियो । अहिले डेट एक महिना जति पर धकेलिनाले खर्च बढेको छ । लगानी उठाउन धौ-धौ परेको यो उधोगमा यसरी नचाहिने खर्च बढ्नाले सार्है टेन्सन भएको छ ।'
भोलीका दिनमा पनि राजनीतिक अवस्था कारणले मुलुकमा के हुन्छ भन्न सक्ने अवस्था नरहेकाले फिल्म रिलिजको डेट यहि भनेर तोक्न नसकेको निर्माताको गुनासो छ । तर पनि रिलिज नहुँदा सम्म जसोतसो गरेर भए पनि प्रचार प्रसार गर्ने घोरासैनीले बताए । आफ्नो फिल्मले अहिले चलिरहेका फिल्म भन्दा केहि भिन्न कथाबस्तु बोकेको हुनाले चल्ने सम्भावना यि निर्माताले देखेका छन् ।
गोपालचन्द्र लामिछानेले निर्देशन गरेको फिल्म 'किन लाग्छ माया' लाई घोरासैनीको प्रस्तुतीमा आनन्द अधिकारी, श्यामकृष्ण श्रेष्ठ र शंकर दुलालले संयुक्त रूपमा निर्माण गरेका हुन् । प्रेममा हुने रोमान्स, दुखान्त अनि कमेडी पनलाई प्रस्तुत गरिएको उक्त सामाजिक फिल्ममा निखिल उप्रेती, झरना थापा, राजबल्लभ कोईराला, गरिमा पन्त र शंकर लामिछानेको मुख्य भुमिका रहेको छ ।