
केही साता अघि मात्र दर्ता भएको नयाँ फिल्म कम्पनी छविराज प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टको टाईटल जुराएको छ । नम्बर वान फिल्ममेकरले परिचित छविराज ओझाले नयाँ ब्यानरबाट विलकुलै नसुनेको टाईटल पनि जुराउन सक्थे तर नानीदेखि लागेको उनको बानी छविराज प्रोडक्सनमा पनि दोहोरिएको छ ।
आज भन्दा १५ बर्ष अघि भारतमा बनेको सैफअली खान र काजोल अभिनित फिल्म हमेसाको टाईटललाई उनले यहाँ हाईलाईट गरेका छन् । हुन त रेखा फिल्मसको पहिलो प्रोजेक्ट अजम्बरी नाता पछि बनेका अन्य चार वटा फिल्म पनि भारतमा यस अघि बनिसकेका फिल्मको टाईटलसंग मेल खादै निर्माण गरेको पाईन्छ । जसमा किस्मत, हिम्मत, हिफाज र अन्दाज पर्दछन् । संस्कृति एउटै भएकाले शब्दहरु उस्तै उस्तै हुनु स्वाभाविक हो तर दर्शकले सोही नामबाट हेरिसकेको फिल्मलाई हाम्रा फिल्ममेकरले टाईटल क्यास गर्दै नेपालीमा बनाउनुलाई अलि भिन्न कोणले दर्शकले हेर्न सक्छन् भन्ने फिल्मीखबरको तर्क हो । किनकी यहाँ नेपाली नामको कमि छैन ।
छविले असार ७ गते देखि सो फिल्मको सुटिङ सुरु गर्दैछन् । जसका निर्देशक सविर श्रेष्ठ रहेका छन् । कस्ले चोर्यो मेरो मन पछि सविरसंग छविको यो दोस्रो यात्रा हो । सहायक हुँदै कस्ले चोर्यो मेरो मनबाट पूर्ण निर्देशकको ट्याग भिर्ना साथ ब्यस्त र भलादमी निर्देशकले परिचित छन् उद्योगमा अहिले सविर । यस्तै छविराज ओझाको साढे दुई दशकको फिल्मी करिअरमा सवैभन्दा उत्कृष्ट फिल्म बनेको पनि कस्ले चोर्यो मेरो मन हो जुन फिल्मको तारिफ रेखा थापाले हरेक ईन्टरभ्यूमा गर्ने गर्छिन् ।
श्रीमती रेखा थापासंग सम्बन्ध सुध्रिएको बताईएता पनि रेखा यो फिल्ममा खेल्ने नखेल्ने टुङ्गो लगाउन सकेका छैनन् छविले । किनकी १२ बर्षे सम्बन्धलाई सौहार्दपूर्ण वाताबरणमा अलग्गिने सर्त सहित गत मंगलबार उनीहरुले मिडिया सामुन्ने मिलेको जस्तो गरेको तर्कहरु आईरहेका छन् । यस्तै छविले नयाँ फिल्ममा रेखा हुने नहुने कुरामा आफूमा भर नपर्ने भन्दै आरोप लाग्ने लठ्ठी सविर तिर फ्याँकिदिएका छन् । उनले भने, 'कलाकार छान्ने अधिकार निर्देशकको हातमा हो मैले हस्तक्षेप गर्न मिल्दैन ।' छविले यसो भन्नुले के बुझिन्छ भने रेखा उनको नयाँ प्रोजेक्टमा देखिने सम्भावना न्यून हो । सो फिल्ममा आर्यन सिग्देल खेल्न सक्ने सम्भावना पनि रहेको बताईएको छ यध्यपी आर्यन र छविराज प्रोडक्सनले तत्तकाल यो बिषयमा मुख खोलिसकेको छैन ।