
डान्स बारमा काम गर्ने युवतीहरुको यथार्थ कथालाई आधार मानेर निर्माण गरिएको भनिएको फिल्म 'नाईट क्विन' जेष्ठ २६ गते रिलिजका लागि तयारी अवस्थामा छ । रिलिज मिती नजिकिंदै गर्दा निर्माण युनिट फिल्मका गीत तथा प्रोमोलाई सञ्चारमाध्यम मार्फत प्रस्तुत गर्न दौडधुपमा छ ।
यहि क्रममा फिल्मीखबरले पनि सो फिल्मको एक गीत र एक प्रोमोलाई प्रस्तुत गरेको छ । नेपाली युवतीहरू डान्स बार रहरले मात्र हैन बाध्यताले पनि जान्छन् भन्ने कथालाई फिल्मले उठान गरेको छ । सेन्सर बोर्डले वयस्क फिल्मको प्रमाण पत्र दिएको 'नाईट क्विन' लाई आरबि खत्री 'शरद' ले निर्देशन गरेका हुन् भने निर्माता बिबि बुढाथोकी 'नबिन' हुन् । फिल्ममा महानायक राजेश हमालले बार गर्लको बारेमा रिसर्च गर्दै नाईट क्विन पुस्तकको लेखकको भुमिका निर्वाह गरेका छन् भने कल्पना शाही, ज्योत्सना भट्ट, उषा खरेल नाईट क्विनका मुख्य महिला पात्र हुन् । यस्तै फिल्ममा हसन खान, शान्ति गिरी, निर्मल सेन्चुरीको पनि अभिनय रहेको छ ।
कुमार बखतीको छायांकन, गोविन्द राई तथा पूनम राईको नृत्य निर्देशन, अष्ट महर्जनको द्धन्द निर्देशन रहेको फिल्मको प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा फिल्म यथार्थ घटनामा आधारित रहेको उल्लेख गरिएको छ । फिल्म ननस्टप क्रियशनको व्यानरमा निर्माण भएको हो ।