
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको दश बुँदे कार्ययोजना प्रति कडा आपत्ती जनाएको चलचित्र संघसँग बोर्डको बार्ता मिलेको छ । संघले बोर्डको दश बुँदे कार्ययोजना खारेज गर्न आफ्नो तर्फबाट समेत दश बुँदे योजना सार्वजनिक गर्दै चर्को दवाव दिएपछी विगत दुई महिना देखि यी दुई संस्था विच चर्को घम्सा घम्सी चलेको थियो । तर सार्वजनिक सरकारी योजनामा परिमार्जित गर्न दुवै संस्था सहमत भएपछी विवादित रूपले नयाँ मोड लिएको छ । श्रोत उद्रित गर्दै यस अघि फिल्मीखबरले यो समाचार सार्वजनिक गरिसकेको थियो जस अनुरूप आज दिउँसो लाजिम्पाटमा रहेको होटल साङग्रिला भएको बार्ताबाट दुवै संस्थाका अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेका हुन् ।
बार्तामा संघबाट महासचिव प्रदीप उदय अध्यक्ष पोखरेलका साथ सांग्रिला पुगेका थिए भने भण्डारीको साथमा सदस्य विकास आचार्य थिए । परिमार्जित नयाँ योजना सम्भवत दश बुँदामा आउने बताईएको छ । यध्यपी कुन–कुन बिषयमा कसरी कार्ययोजना तय गरिएको छ त्यो भने भोली शुक्रबार दिउँसो दुई बजेका लागि तय गरिएको प्रेस मिट मार्फत औपचारिक रूपमा बोर्डले मुख खोल्ने छ । चलचित्र संघ र विकास बोर्डको वार्ताको मध्यस्थकर्ताको भुमिका नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य अशोक शर्माले गरेका थिए ।
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार दश बुँदे नीतिको परिमार्जित बुँदामा विशेष गरी बक्स अफिस स्थापनामा बोर्डले जोड दिएको छ जसका लागि चलचित्र संघ सहित सरोकारवाला संघसंस्थाको सहमतिमा बोर्डले बक्स अफिस स्थापना कार्यलाई तुरुन्त अगाडी बढाउने छ । यसैगरी चलचित्र विकास शुल्क खारेज गरी त्यसको विकल्प खोजिने पनि नयाँ नितिमा उल्लेख गरिएको छ ।
त्यस्तै सेन्सर प्रक्रियाको सम्बन्धमा पुरानै तरिका अनुरूप चलचित्रको जाँचका लागि कुनै खास ठाँउ नतोकी चलचित्र जाँच समितिले नै ठाँउको छनौट गर्ने प्रचलनलाई निरन्तरता दिने उल्लेख गरिको छ । सशस्त्र द्धन्दको समयमा बन्द भएका हलहरूलाई सरलिकृत तरिकाले नविकरण गर्न बोर्डले निति अघि सारेको छ । साथै बोर्डले आफ्नो बिधेयकमा रहेको दण्ड सजाय सम्बन्धी ब्यवस्थामा पुर्नविचार गरी सो सजायका लागि छुट्टै संयन्त्र ब्यवस्था समेत गर्ने नयाँ नितिमा उल्लेख गरेको छ । यि बुँदाहरूमा नै भोली दुई संस्था बिच सहमती पत्रमा हस्ताक्षर भई प्रेम मिट मार्फत जानकारी गराईने छ ।
यस्तै फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार चलचित्र हल बर्गिकरणको बिषयमा पनि बोर्डले निर्णय गरेको छ जसको जानकारी पनि भोलीकै प्रेसमिट मार्फत दिईने बुझिएको छ । बोर्डले हल बर्गिकरण गरे लगत्तै कुन फिल्म कुन श्रेणीको र फिल्मकर्मीको ग्रेडिङ पनि स्वत: छुट्टिने छ ।