संविधान जारी मिति अब पाँच दिन मात्र बाँकी छ तसर्थ हरेक नेपालीको मनमा कस्तो संविधान बन्ला भनेर विभिन्न प्रश्न उब्जिरहेको छ । त्यसमाथि पनि संघीयता जस्तो ठूलो ईश्युमा दलहरुले अन्तिम समय सम्म पनि सहमति गर्न नसक्दा नयाँ संविधान के कस्तो बन्ला भनेर यसै भन्न सकिने अवस्था छैन । संविधानका कारण हरेक क्षेत्र अहिले ठप्प छ । चाहे त्यो शैक्षिक क्षेत्र होस वा कलाकारखाना वा भनौ कार्यालय यि सवै विभिन्न संघसंस्थाले आह्वान गरेको बन्दका कारण केही दिन यता संचालनमा छैनन् ।
सरकारले औपचारिक रुपमा अन्य क्षेत्रलाई एक किसिमको बिशेषण दिए पनि नेपाली मनोरञ्जन विद्यालाई भने उद्योगको मान्यता दिएको छैन तर पनि १८ हजार ब्यक्तिले फिल्म उद्योगबाट आफ्नो दैनिकी चलाईरहेका छन् । हाल आधादर्जन फिल्मको सुटिङ चलिरहेको छ तर बन्दले प्रभाव पारिरहेको छ । काठमाण्डूमा हुने ईनडोर सुटिङलाई बन्दले प्रभाव नपारे पनि आउटडोरमा रहेका केही फिल्मको सुटिङ यो बन्दका कारण स्थगित भएका छन् । यति मात्र हैन विगत एक महिना देखि औपचारिक रुपमा फिल्म सम्बन्धी कार्यक्रम नभए पनि कलाकारहरुको जमघटमा पनि अबरोध आएको छ । यसै प्रसङ्गमा केन्द्रित रहेर फिल्मीखबरले केही फिल्मकर्मीलाई सोधेको थियो बन्दमा के गर्दैहुनुहुन्छ तपाई ?
करिश्मा मानन्धर : के हुनु र अरुलाई जसरी असर पुर्याएको छ त्यस्तै मलाई पनि बन्दले हैरान पारिसक्यो । बन्दले गर्दा घर पिकनिक स्पट जस्तै भईसक्यो । धेरै थरिका आईटम बनाउछु अनि सवैलाई खुवाउछु । रमाईलो पनि अब धेरै भईसक्यो । जेठ १६ गते देखि धन्दामा ब्यस्त हुने भएकाले त्यसको तयारी पनि गरिरहेको छु तर सोही मितिमै फिल्म सुटिङ हुन्छ वा हुदैन भन्न सकिने अवस्था छैन । संविधानका कारण जसलाई जे असर पुगे पनि सवैले चाहे जस्तो संविधान बनोस म त यहि भन्छु ।
राजेश हमाल : अरुलाई जस्तै मलाई पनि बन्दले तनाव गराईसक्यो । अहिले मेरो दैनिकी बुकहरु पढेर वित्ने गरेको छ । टेलिभिजन मार्फत अलिअलि बन्दको अवलोकन गरिरहेको छु तर बाहिर गएर प्रत्यक्ष हेरेको छैन । बन्दले मलाई कति सम्म पिडा दिएको छ भने गर्ल फ्रेण्डलाई समेत भेट्न पाएको छैन । उनी हिडेर आउन सक्दिनन् म हिड्ने कुरा भएन । भेडीगोठ र रक्षा भन्ने फिल्मको सुटिङमा ब्यस्त हुने टाईम थियो यो तर बन्दले सवै अड्कियो । संविधान जारी गर्ने समय आएकाले सवै क्षेत्रलाई असर पुग्नु स्वाभाविक हो तर संविधान बनेर आएपछी कसलाई असर पर्ने गरी नआओस यति भन्छु म ।