
ब्रदर्श ईन्टरटेन्मेन्टको ब्यानरबाट नयाँ फिल्म सुकुलगुण्डा निर्माण गर्ने तयारी गरेका निर्माता प्रदीप उदयले सो फिल्म अब नयाँ कम्पनी द्धारिका ईन्टरटेन्मेन्टबाट बनाउने भएका छन् ।
विगत दश बर्ष देखि वेपत्ता भएका चलचित्र संघका पूर्व अध्यक्ष एवं आफ्ना पिता द्धारिकानाथ उदयको नामबाट नयाँ कम्पनी खडा गरी उनले सुकुलगुण्डालाई एकल लगानीमा निर्माण गर्ने अन्तिम तयारी गरेका हुन् । सोमबार परेको आफ्नो जन्मदिनको अबसरमा उनले सुकुलगुण्डा निर्माणको औपचारिक घोषणा गर्ने तयारी गरेका थिए तर बन्दको कारण सो फिल्म निर्माण घोषणा स्थगित गर्नु गर्नुपर्यो उनले ।
'जन्मदिनको विशेष दिन पारेर बुबाको नामबाट खोलिएको कम्पनी मार्फत सुकुलगुण्डा निर्माण र सोहीसंगै नयाँ निर्देशकलाई सार्वजनिक गर्ने तयारी गरेको थिएँ तर बन्दले साथ नदिएकाले अब माहोल साम्य हुना साथ घोषणा गर्नेछु', उदयले भने । २०४६ सालमा चेलिबेटी फिल्मबाट यादव खरेललाई ब्रेक दिदै प्रोड्यूसरको ट्याग भिरेका उदयको पहिलो फिल्म निर्माण कम्पनी उदय फिल्मस हो । त्यसपश्चात उनले ब्रदर्श ईन्टरटेन्मेन्टबाट फिल्म बनाउन थाले र पछिल्लो बर्षदेखि उनले काविल फिल्मसलाई पनि ब्रदर्शसंगै जोडेर फिल्म बनाउन सुरू गरेका हुन् ।
समयसंगै उनले पिताको नाममा पनि नयाँ कम्पनी खोले ।'उदय फिल्म खारेज सरह हो तर सक्रिय रहने ब्रदर्श र काविलमा पनि म ईन्भल्व हुने छु भने द्धारिका मेरो नितान्त ब्यक्तिगत कम्पनी हो त्यसैले यसबाट गरिएका सवै कार्य मेरो एकल लगानीमा हुने छ, उनले भने । उदयले नै ऋषि लामिछाने र गणेश देव पाण्डेलाई पनि निर्देशकको रूपमा डेब्यू गराएका हुन् । नयाँ कम्पनीको बिषयमा उनले भने, 'हिजो अस्ति प्रोडक्सन मात्र गरिन्थ्यो अब यो कम्पनी मार्फत प्रोडक्सन सहित प्रदर्शनी र वितरण पनि गरिन्छ ।'
उदयले निर्माण गरेको पछिल्लो फिल्म मालतीको भट्टी हो जुन आउदो शुक्रबार देखि रिलिज हुने कुरा थियो तर संविधान जारी मितिले बनाएको बन्द माहोलका कारण तत्कालका लागि फिल्म रिलिज स्थिगित गरेका छन् उनले । सुकुलगुण्डाको छायाकंन श्रावणको अन्तिम सातादेखि गर्ने तयारी पनि गरिरहेका उदयले त्यस पश्चात निर्देशकद्धय दिनेश डिसी र नवल नेपालको निर्देशनमा थप दुई फिल्म यहि बर्ष निर्माण गर्दैछन् ।