
गत बैशाख २९ गतेबाट राजधानीका हलमा रिलिज भएको फिल्म 'सायद' ले आफ्नो सफलतालाई छाडेको छैन । बन्दको यो मारमा पनि दर्शकले फिल्म हेर्ने रूची जारी राख्दा फिल्म दोस्रो सातामा पनि राम्रो कलेक्सनका साथ प्रदर्शन भईरहेको छ ।
केहि सञ्चारमाध्यममा आएको रिभ्यूबाट असन्तुष्ट देखिएका निर्देशक सुरज सुब्बाले फिल्मलाई दर्शकले रूचाएकाले आफू खुसी भएको बताए । उनले भने, 'मेरो दर्शकले फिल्मलाई रूचाईदिएका छन् त्यसैले मलाई अझ राम्रो काम गर्ने हौसला मिलेको छ ।' बन्दले गर्दा स्कुलहरू पनि बन्द भएकाले अधिकांश दर्शक स्कुले रहेको निर्देशकको भनाई छ । फिल्म पनि स्कुल तथा कलेज बिधार्थी केन्द्रित छ । शनिबार राजधानी बन्दको प्रभाव नपर्नुले सायदलाई ठूलो राहत मिलेको थियो ।
यौन, लागू पदार्थ, मायाप्रेम जस्ता बिषयलाई बोकेर निर्माण गरिएको यस फिल्ममा झरना थापा, सुनिल रावल, संयम पुरी, विल्सन विक्रम राई, किशोर सम्बाहाम्फे, अनिता दाहाल, अराज केशब, रितिका लामा लगायतले अभिनय गरेका छन् । साथै फिल्ममा बाबु बोगटी र करिष्मा मानन्धरको बिशेष भुमिका रहेको छ । फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् भने फिल्ममा संजय लामाको छायांकन, गोबिन्द राई र आरज केशवको कोरियोग्राफी तथा स्याडोज ब्याण्डको संगीत रहेको छ |