
आर्थिक हिनामिनाको आरोप सहित संस्थालाई सक्रिय भएर चलाउन नसकेको भन्दै चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङलाई आफ्नै कार्यसमितिले निलम्बन गरेको छ ।
संघका महासचिव अनन्त तिमिल्सिनाको नेतृत्वमा आज करिब तीन घण्टा सम्म बसेको बैठकले तामाङलाई कुनै पनि फिल्मी कार्यक्रममा अध्यक्षको हैसियतले सहभागी हुन नपाउने निर्णय सहित दुई तिहाई बहुमतले निलम्बन गरेको हो । 'आर्थिक कुरा क्लियर गर्न उहाँलाई अल्टिमेट दिएका थियौ तर निर्धारित समय सकिएपछी पनि उहाँले चासो दिनु भएन त्यसैले कार्यसमितिको बैठकले उहाँलाई निलम्बन गरेको हो', बैठक पश्चात महासचिव तिम्लिसिनाले जानकारी गराए ।
बैठकमा अध्यक्ष तामाङ निकट उपाध्यक्ष मनोज केसी तथा उनको श्रीमती अन्जु लामा जो सदस्य पदमा छिन् साथै सल्लाहकार डिक खड्का र बालदीप राईको उपस्थिति थिएन । प्राप्त जानकारी अनुसार अध्यक्ष तामाङले १ लाख २५ हजार संस्थाबाट हिनामिना गरेको खबर छ तर यो बिषयमा महासचिवले पछि मात्र जानकारी गराउने बताए ।
आजको कार्यसमितिको बैठकले आउदो श्रावण ३० गतेका लागि अर्को बैठक तोकेको छ जहाँबाट नयाँ अध्यक्ष चुनिने बताईएको छ । तामाङ छ महिना आघि मात्र दोश्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका थिए ।