करिब तीन साता देखि सुदूर पश्चिम बन्दको शिकार भएको छ भने मध्य पश्चिम, पश्चिम तथा पूर्वी भेग पनि हरेक दिन जस्तो बन्दको शिकारमा परेको छ । राजधानी पनि यसबाट अछुतो रहन सकेन । यहि बन्दले गर्दा देशभरका हलहरू ठप्प छन् भने फिल्मको रिलिज डेट पनि धमाधम सरिरहेका छन् ।
छुट्टाछुट्टै जातीय संघ संगठनहरुको विरोध प्रदर्शन बढ्न थालेपछि प्रदर्शनको क्रममा रहेका फिल्म निर्माताहरू चिन्तित हुन थालेका छन् । यिनीहरूको चिन्ता दिन प्रतिदिन बढ्दै पनि छ । अहिले बन्दले फिल्म चलेका छैन जसले गर्दा रिलिज नभएका फिल्मलाई खासै घाटा परेन तर जब बन्द खुल्छ त्यसपछिको अवस्था भने निकै जटिल हुनेछ । अहिले फिल्मकर्मीले बन्द पछिको सम्भावित खतरालाई अनुमान लगाउन थालेका छन् ।
बैशाख २२ गतेबाट फिल्मको रिलिज पोष्टपोण्ड हुन थालेका हुन् र यो क्रम जारी छ । जब बन्द खुल्छ तब फिल्महरूको बाढि नै आउनेछ । फिल्म रिलिजका लागि हानथाप नै हुनेछ । त्यो हानथापमा के हुन्छ यसै भन्न सक्ने अवस्था छैन । बितरक तथा निर्माताहरूले बन्द पछिको अवस्था निकै जटिल हुने बताएका छन् । वितरक सुनिल मानन्धर भन्छन् 'बन्द खुलेपछि डेट मिलाउन निकै गार्हो पर्छ ।' ऊनी अहिले देखि नै डेट मिलाउन आफू लागिपरेको बताउँछन् । यता डिसिएन पनि बन्द पछि रिलिज हुने फिल्मको डेट मिलाउन लागिपरेको छ तर यो कार्यलाई सहज देखेको छैन उसले पनि ।
यसै त एक सातामा ३ वटा सम्म फिल्म रिलिज हुने गरेका छन् जसले गर्दा निर्माताहरूलाई व्यवसायिक असर परिरहेको छ । अब त झन् बन्द खुलेपछि फ्रिज भएर बसेका फिल्मको बाढि आउँदा निर्मातालाई कति असर पर्ला भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । द्रव्य, सम्झिराख है, प्लान, मालतीको भट्टी, अपवाद, माया त माया हो, जीन्दगानी दर्पण छायाँ, दि लास्ट किस जेष्ठ १४ पूर्व नै रिलिज हुने भनिएका थिए तर लगातारको बन्दले गर्दा निर्धारित मितिमा यि फिल्म रिलिज नहुने भएका छन् । देशभर रिलिज हुने भनिएको सायद पनि राजधानीमा मात्रै सिमित भयो । १४ पछि रिलिज हुने फिल्म त यसै नै छ । ति फिल्म माथी यि पोस्टपोण्ड भएका फिल्मको भार पर्दा घाटा एकलाई हैन समग्र उधोगलाई पर्नेछ ।