
लमजुङको पर्यटकिय स्थान घले गाउँमा इन्डियन आईडल प्रशान्त तामाङ र नेपाल वान टेलिभिजनले गरेको नेपाल स्टार बिजेता बिष्णु चेम्जोङको हाल अनस्क्रिन रोमान्स चलिरहेको छ । गायनबाट कला यात्रा तय गरेका प्रशान्त र बिष्णुले निर्माणाधिन फिल्म 'निशानी' मा अनस्क्रिन रोमान्स गरेका हुन् ।
१५ दिन देखि घले गाउँमा छायाँकन भईरहेको उक्त फिल्मको सुटिङ सेटबाट फिल्मीखबरसँग कुरा गर्दै करियोग्राफर गोबिन्द राईले प्रशान्त र बिष्णुलाई आज कौडा नृत्य गराएको बताए । लमजुङको लोकप्रिय रहेको सो कौडा नृत्यमा प्रशान्त र बिष्णुले राम्रो काम गरेको बताए । उनले भने, 'दुबै गायन क्षेत्रबाट अभिनयमा आएका यि दुईले निकै राम्रो काम गरेका छन् ।' प्रशान्तले यसअघि गोर्खा पल्टन, किन मायामा, अंगालो यो मायाको, धड्कन भित्र जस्ता फिल्ममा अभिनय गरिसकेका छन् भने बिष्णुले एक लिम्बु फिल्ममा अभिनय गरिसकेकी छिन् ।
बिनोद सेरेङको निर्देशन रहेको सो फिल्ममा प्रशान्तको अपोजिटमा अनु गुरूङ समेत रहेकी छिन् । अनुको यो डेब्यू फिल्म हो । यि कलाकारका अलावा फिल्ममा प्रेम सुब्बा, सुरज रानाभाट, सिरू बिष्ट, कोपिला थापा, जयनन्द लामा लगायतले अभिनय गरिरहेका छन् । प्रेम सुब्बा, सरोज भण्डारी र ललिता धैगडेलको लगानी रहेको सो फिल्म लाहुरेको कथामा आधारित छ ।
आफैले लेखेको कथाको बारेमा बोल्दै निर्देशक सेरेङले भने, 'युद्धमा विरगती प्राप्त गरेका गोर्खालीको कथालाई हामीले मुख्य रूपमा उठान गरेका छौं । साथमा फिल्ममा पूर्वी नेपाल र पश्चिम नेपालको संस्कृतीको फ्युजन रहेको छ ।' यसका साथ फिल्मले त्रिकोणात्मक प्रेमकथालाई समेत बोकेको निर्देशकले बताए । घले गाउँको साथमा इलाम, सिक्किम र दार्जिलिङमा सुटिङ गरिने सो फिल्ममा बिबि अनुरागीको संगीत, युवराज राईको छायाँकन तथा जनकको द्धन्द रहेको छ ।