
आउँदो भदौ पाँच देखि रेखा थापा २९ पुरा पुगेर ३० बर्षमा प्रवेश गर्दैछिन् । झण्डै डेढ दशकको फिल्मी करिअरमा सवा सय फिल्म खेलिसकेकी रेखाले जतिबेला देखि फिल्म लाईनमा प्रवेश गरिन् त्यतिबेला देखिनै आफूलाई नम्बर वान हिरोईनको लिष्टमा राख्न सफल भईन् ।
यसका पछाडी उनलाई हेल्प गर्ने थुप्रै ह्याण्डहरू थिए होला जसले यो डेढ दशकमा उनलाई सफल बनाउन निरन्तर सहयोग गरिरहे । मोडलिङ हुँदै हिरोईन र त्यसपछी सफल फिल्म मेकरले परिचित रेखाको आफ्नो ब्यानर जति सफल भयो सोही अनुरूप पारिवारिक सम्बन्ध भने समयसंगै असफल भएको खबर बाहिरिएपछी अहिले उनी निकै तनावमा रहेको बुझिएको छ । हुन त दुई दिन अघि फेसबुकमा उनले पतिको रूपमा छवि ओझालाई रोज्नु आफूबाट भुल भएको र छविले आफूलाई श्रीमतीको रूपमा रोज्नु उ झुक्किएको भन्दै घुमाउरो शैलीको स्टाटस लेखेपछि अहिले यो बिषयले समग्र फिल्म उद्योग बहसमय बनेको छ ।
जुन बहससंगै छविलाई औपचारिक रूपमा त्यागेर फिल्म निर्देशनको पाटोमा लाग्ने उनले निर्णय गरेको खबरले पनि अहिले मार्केट पिटिरहेको छ । श्रोत अनुसार उनले भदौ पाँच गते पर्ने आफ्नो ३० औँ जन्मदिनको दिन 'काली' भन्ने फिल्म निर्देशन घोषणा गर्दैछिन् जसमा उनले हिरोको रूपमा बाटो मुनिको फूलमा आफ्नो अपोजिटमा देखिएका गायक यस कुमारलाई खेलाउँदै छिन् । फिल्मको स्क्रिप्ट कान्तिपुर साप्ताहिकका सिनियर जर्नलिष्ट अश्विनी कोईरालाले तयार गरिरहेका छन् । यो बिषयमा श्रोत भन्छ- 'एउटा पाका पत्रकारले लेखेको स्क्रिप्ट निकै मजबुत हुने भन्दै रेखाले फिल्म निर्देशनलाई अगाडी बढाउने निर्णयमा झन आँट कसेकी छिन् ।'
रेखाले निर्देशन गर्ने सो फिल्ममा लगानी प्लान फिल्मबाट डेब्यू गरेका कलाकार ध्रुब न्यौपानको रहने श्रोतले जनाएको छ । ध्रुब नयाँ बानेश्वरमा रहेको रोजमेरी क्याफेका सञ्चालक पनि हुन् । उनले आफ्नो ब्यवसायको अर्को पार्टमा फिल्म प्रोड्यूसर भएर उभिन लागेको श्रोत बताउछ । श्रोत भन्छ- 'कलाकारितामा खासै नजम्ने छाट देखेपछी ध्रुबले आउदो दिनमा कलाकार हैन चर्चित प्रोड्यूसर भएर देखिने निर्णय गरेकाले उसले रेखालाई निर्देशकको रूपमा डेब्यू गराउन लागेका हुन् । र, यहि कारणले होला रेखा र ध्रुवको केमेष्ट्री अहिले निकै राम्रोसंग जमेको देख्न सकिन्छ । केही महिना यता नयाँ बानेश्वरमा रहेको ध्रुबको क्याफेमा रेखाको आवातजावत धेरै नै हुने गरेको छ । अझ भनौ गत बर्षको अन्त्यमा रिलिज भएको रावणको म्यूजिक लन्च पनि रेखाले सोही क्याफेमा गरेकी थिईन् ।
आफूले निर्देशन गर्ने पहिलो फिल्मको खबर आफ्नो जन्मदिनकै दिन भदौ पाँच मै सार्वजनिक गर्ने तयारी गरिरहेका बेला फिल्मीखबरले एक्सक्लुसिभ रूपमा उनी निर्देशनमा डेब्यू गर्न लागेको खबर थाहा पाएको हो । जुन बिषयमा ध्रुवसंग प्रश्न गर्दा उनी न्यूट्रल बसिदिए । सो फिल्ममा रेखाले आफ्नो आफन्त पर्ने एक युवतीलाई फिल्म खेल्न आग्रह गरे पनि तीनले नमानेपछी काष्ट चयनको बिषयमा रेखा केही कन्फ्युजमा रहेका बुझिएको छ । फिल्म निर्देशन आफैबाट हुँदा रेखाले पनि लिड रोलमा खेल्ने सोच बनाएको श्रोत बताउँछ । फिल्म पूर्ण रूपमा नारी प्रधान हुनेछ जुन कुरालाई टाईटलले पनि पुष्टी गरिदिन्छ ।