
गत बर्षको ब्ल्कबस्टर फिल्म 'लूट' को फेरि एक पटक पाईरेसी भएको छ । गत चैत्र १० गते अनलाईन पाईरेसी भएको सो फिल्म यस पटक भने सिडीमा समेत आईसकेको बुझिएको छ ।
अहिले अनलाईनहरूमा छ्याप्छ्याप्ती लूट फिल्मलाई उच्च गुणस्तरमा हेर्न सकिनेछ । अमेरिका सहित बिश्वका थुप्रै मुलुकमा प्रदर्शन हुँदै गरेको र हुन बाँकी रहेको अवस्थामा फिल्म पाईरेसी भएको हो । यता फिल्म पाईरेसी भएपछि डिभिडीको राईट लिएका हाईटेक इन्टरटेन्मेण्टका सञ्चालक राजेन्द्र मानन्धर तनावमा छन् । यु ट्यूब सहित अन्य अनलाईनहरूबाट फिल्म हटाउने प्रयास गरिरहेका राजेन्द्रले बिदेशमा फिल्म रिलिज गर्नेहरूको लापरवाहीले गर्दा पाईरेसी भएको बताए ।
पहिलो पटक पाईरेसी हुँदा खासै धेरै दर्शकले हेर्न नपाएको यो फिल्मलाई यस पटक भने हजारौं दर्शकले हेरिसकेका छन् । राम्रै मूल्य तिरेर फिल्मको डिभिडी राईट लिएका मानन्धरले यसरी पाईरेसी हुनाले नेपाली फिल्मको मार्केट खस्केको बताए । उनले भने, 'यसरी पाईरेसी हुन थाल्यो भने भिसिडी व्यवसायिहरूले फिल्म लिन गार्हो मान्छन् जसको प्रत्यक्ष असर दर्शकमा पर्न जान्छ ।' त्यसैले पनि उनी फिल्म पाईरेसी नगर्न सबैलाई आग्रह गर्छन् ।
यता राजेन्द्रले भिडियो अपलोड गर्नेको आईपी एड्रेस पत्ता लगाएर कारवाही गर्ने समेत बताए । उनले भने, 'पाईरेसी ठूलो अपराध हो र यो अपराध गर्नेलाई प्रहरी समक्ष कारवाहीको माग पनि गरेका छौं । प्रहरी पनि अहिले यसको अनुसन्धानमा छ ।' जेष्ठ १४ पछिको अवस्था हेरेर ब्रेक फेल पछि राजेन्द्रले लूटको डिभिडी निकाल्ने तयारी गरिरहेका छन् । निर्माण पक्षले त्यति चासो नदेखाईंदिंदा समयमा डिभिडी निकाल्न नसकेको उनको भनाई छ ।