
प्रदर्शन हुन बाँकी ३ र प्रदर्शन भईसकेका ९ गरी अहिले सम्म ११ ओटा फिल्म निर्देशन गरिसकेका प्रदिप श्रेष्ठलाई निर्देशकिय हिसाबमा राम्रो मेहनत गर्ने र प्राबिधिक रुपमा राम्रो ज्ञान भएका निर्देशक मानिन्छ तर उनले निर्देशन गरेका कुनै पनि फिल्म व्यवसायिक सफल भएका छैनन् अझ भनौ लगानी पनि उठाउन सकेका छैनन् भन्दा फरक नपर्ला ।
केही फिल्ममा मुख्य सहायक निर्देशन गरे पछि मधुसुदन शिलवालले निर्माण गरेको फिल्म जीवनरेखाबाट उनि पहिलो चोटि निर्देशक बनेका थिए तर उनले निर्देशन गरेको पहिलो फिल्म नै व्यसायिक रुपमा सफल हुन सकेन । यस पछि अहिले सम्म अजम्बरी नाता, डर, दुई पल, भगवान सबैको, सपना, सडक रिलिज भैसकेका फिल्म हुन् भने भने कवच गत हप्ता देखि रिलिज भैरहेको छ यद्यपी यि सबै फिल्म सफलताको श्रेणीमा उक्लन सकेका छैनन् । तर अच्चम्मको कुरा के छ भने उनले अहिले सम्म निर्देशन गरेका सबै फिल्मका गीत भने हिट छन् ।
पहिलो फिल्म जीवनरेखाको ‘बाजा बज्यो...’ बोलको गीत त्यो बेला निकै चलेको थियो । प्रदर्शन भएको पछिल्लो फिल्म कवचको ‘आकाशको रङ उस्तै छ..’ ले पनि अहिले बजार तताई रहेको छ । यो मात्रै होईन उनले निर्देशन गरेको अजम्बरी नाताको ‘हाम्रो माया जुनी जुनी छ...’, डरको ‘एउटा फुल के मागु...’, दुई पलको ‘मनले मनको साथ पायो...’, भगवान सबैको ‘छन् छन्...’, सपनाको ‘म तिम्रै यादमा हराउँछु सपना...’, सडकको ‘बिस्तारै बिस्तारै...’ यि सबै गीतलाई दर्शकले निकै मन पराईदिए र हिट भए । प्रदर्शन हुन बाँकी ३ फिल्म बोस, मेरो मनको साथि, तृष्णाको गीत सार्वजनिक भैसकेको छैन ।
त्यसो त उनले निर्देशन गरेका फिल्म खासै नराम्रा हैनन् तर पनि उनको दुर्भाग्य नै भन्नु पर्छ कि उनलाई सफलताले साथ दिन सकेन । फिल्म फ्लप भए पनि गीत हिट भईदिँदा उनलाई मन बुझाउने बाटो भएको छ । आशा गरौँ उनले निर्देशन गर्ने अगामी फिल्म सम्पुर्ण रुपमा सफल हुनेछन् ।