मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा `हाईवे` लाई १६ लाख

फिल्मीखबर, काठमाण्डौ, 2012/05/09

 बजार विस्तारका लागि अष्ट्रेलियाको सोलाङचर कम्पनीले बिगत दुई बर्ष देखि नेपाली फिल्मलाई अष्ट्रेलियामा रहेका नेपाली समुदाय विच प्रदर्शन गर्दै आएको छ । यहि क्रमलाई निरन्तरता दिंदै प्रदर्शनको क्रममा रहेको फिल्म 'हाईवे' को पनि अष्ट्रेलिया प्रदर्शनको जिम्मा सो कम्पनीले लिएको छ ।

 

कम्पनीले पहिलो पटक 'गड लिभ्स इन दि हिमालयज' लाई अष्ट्रेलियाका प्रमुख शहरमा रिलिज गरेको थियो । त्यसपश्चात 'नाई नभन्नु ल' र 'कुसुमे रूमाल-२' प्रदर्शन गर्‍यो । बिचमा केहि समय सुस्त देखिएको सो कम्पनी जुर्मुराउँदै दिपक रौनियार निर्देशित फिल्म हाईवेलाई भारी मूल्यमा खरिद गरि अष्ट्रेलिया रिलिजको जिम्मा लिएको छ । बुधबार ललितपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अष्ट्रेलियाबाट स्काईपमा कुरा गर्दै कम्पनीका निर्देशक राजु शाक्यले १६ लाख रूपैंया एड्भान्स स्वरूप दिएर हाईवेको राईट लिएको बताए ।
 

आफूले उत्कृष्ट फिल्म छनोट गरेको बताउँदै शाक्यले स्काईप मार्फत नै भने, 'हाईवे हामीले खोजेको जस्तै फिल्म भएकोले ८ वटा शहरमा रेगुलर शो गर्ने तयारी गर्दैछौं ।' १२ शो देखाएर नेपाली फिल्मको प्रवर्द्धन गर्न गार्‍हो हुने भएकाले कम्पनीले हलमा नै रेगुलर शो गर्न लागेको शाक्यको भनाई छ । उनले हाईवे अंग्रेजी सबटाईटलमा पनि भएकाले अष्ट्रेलियन समुदायले पनि नेपाली फिल्म हेरर नेपालको अवस्था र नेपाली फिल्मको बारेमा बुझ्न पाउने बताए । हाईवे अष्ट्रेलियाको मेलवर्न, सिड्नी, पर्थ, क्यानबेरा, ब्रिसबेन, डार्बिन, एडिलेड लगायतका स्टेटमा रहेका सिनेमा घरमा नियमित प्रदर्शन हुनेछ ।
 

यस्तै सोलाङ्चरका अर्का सदस्य पेशाल लुईटेलले राम्रो नेपाली फिल्मको अर्न्तराष्ट्रिय बजार राम्रो भएको बताउँदै आगामी दिनमा राम्रा फिल्म छनोट गरेर निरन्तर रूपमा नेपाली फिल्मको बजार विस्तारमा सहयोग पुर्‍याउने बताए । नेपालमा असार १ गतेबाट रिलिज हुन लागेको सो फिल्मलाई अष्ट्रेलियामा जुलाईको अन्तिम साताबाट प्रदर्शन शुरू गर्ने लुईटेलको भनाई थियो । सोलाङचरले शुरूमा १६ लाख रूपैंया एड्भान्स स्वरूप दिएको र ३२ लाख रूपैंया भन्दा बढि नाफा कम्पनीले गरेमा त्यसको २० प्रतिशत पनि हाईवेका निर्मातालाई दिने भएको छ ।

 

यता फिल्मका निर्देशक रौनियारले यसलाई आफ्नो सफलताको पहिलो सिंढी भएको बताए । उनले भने, 'मेरो सपना नै बिदेशको हलमा रेगुलर शो गर्ने थियो त्यो आज सोलाङ्चरले पूरा गर्दै छ । आगामी दिनमा बिश्वका अन्य मुलुकमा पनि यसैगरी फिल्म शो गर्दै जाने रौनियारले बताए । बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षका कथाहरूमा केन्द्रित रहेर निर्माण गरिएको फिल्म 'हाईवे' लाई आदी प्रोडक्सन र अमेरिकाको लुभर्चर फिल्मसको सहकार्यमा लोनिम दीक्षित, समीरमणि दीक्षित र मिता होसालीले निर्माणमा सघाएका हुन् ।

 

जर्मनीको बर्लिनमा आयोजित बर्लिन फिल्म फेस्टिवलमा  प्रिमियर गरिएको फिल्म 'हाईवे' मा सौगात मल्ल, कर्म, दयाहाङ राई, राजन खतिवडा, विनय श्रेष्ठ, आशा मगराती, सृष्टि घिमिरे तथा चर्तित बीबीसी नेपाली सेवाका पत्रकार रबिन्द्र  मिश्र लगायतले अभिनय गरेका छन् । हाईवेलाई नेपालमा नरेन्द्र महर्जनले वितरणको जिम्मा लिएका छन् ।