
प्रदर्शनको मिती नजिकिंदै गर्दा फिल्म 'थ्री लभर्स' को फाईट सिनको रि-सुट गरिंदैछ । मंगलबार बिहानैबाट राजधानीको बालाजु स्थित चलचित्र विकास कम्पनीको ल्याबमा हिमाल केसीले द्धन्द निर्देशन गरिरहेका छन् ।
गत मंसिर महिनामा सुटिङ गरिएको सो फिल्मको दुई दिन लगाएर फाईटको सिन खिचिएको थियो तर कपि गर्ने बेलामा फाईल उडेपछि अहिले पुन: सो सिन खिचिएको हो । आज पुरै दिन र रातभर सुटिङ गरि फाईटको सिन खिचेर सक्ने निर्देशक सुरेश दर्पण पोखरेलले फिल्मीखबरलाई जानकारी गराए । 'पहिला खिचेको सिन हामीलाई निकै राम्रो लागेको थियो । हरकिसिमबाट रिकभर गर्ने प्रयास गर्यौं तर सकेनौं र अहिले रि-सुट गर्न बाध्य भएका हौं तरपनी उक्त द्धन्द दृश्यलाई अझ राम्रो बनाउने छौं ' 'निर्देशक पोखरेलले भने ।
यता रि-सुट गर्नु पर्दा दु:ख व्यक्त गरेका द्धन्दनिर्देशक हिमाल केसीले पहिला भन्दा राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले थ्री लभर्सको द्धन्दका दृश्यहरूलाई आफ्नो फिल्म इतिहासकै उत्कृष्ट भएको बताउँदै आएका थिए । उनले भने, 'मलाई आजको रि- सुटले अझ चुनौती थपिदिएको छ । त्यसैले आफ्नो तर्फबाट सक्दो उत्कृष्ट बनाउने छु ।' यसैगरी फिल्मको प्रोमोशनका लागि एक्सन प्रोमोको पनि आजै सुटिङ गरिने छ । जसका लागि सम्पादक सुरेन्द्र पौडेल पनि अहिले सुटिङ स्पट पुगेका छन् । यहि सुटिङका लागि फिल्मका मुख्य कलाकार देबु श्रेष्ठ बेल्जियमबाट केहि दिन अघि नेपाल आएका थिए ।
बेल्जियममा रहेका एनआरएन प्रिन्स श्रेष्ठको निर्माणमा सुरेश दर्पणले निर्देशन गरेको फिल्म 'थ्री लभर्स' मा निरज बराल, प्रियंका कार्की, देबु श्रेष्ठ, सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको मुख्य भुमिका रहेको छ । शिबम अधिकारीको कथा रहेको सो फिल्ममा राजन इशानको संगीत, पुरूषोत्तम प्रधानको छायाँकन, हिमाल केसीको द्वन्द, शंकर बिसी, कविराज गहतराज र पूनम राईको नृत्य रहेको छ । सस्पेन्स थ्रीलर लभस्टोरी फिल्म 'थ्री लभर्स' छिट्टै नै रिलिज हुने निर्माण युनिटको भनाई छ ।