
संविधान जारी मिती जेठ १४ नजिकिदै गर्दा आफ्ना हक हित सुरक्षित हुनु पर्ने माग राख्दै विभिन्न समूहले आन्दोलन जारी राखेका छन् । कोही जातिय पक्षमा छन् त कोही भौगोलिक बनावटका आधारमा आफ्नो अधिकार सुरक्षित गर्न सरकारलाई दवाव दिईरहेका छन् । जुन दवाव जेठ १४ सम्म जारी रहने छ ।
भावी संविधानमा फिल्म क्षेत्रको हक अधिकार के-कसरी समेटिने हो त्यो जेठ १४ को मध्यरात सम्म थाहा हुने छ तर जेठ १४ नजिकदै गर्दा फिल्मको विजनेस पूर्ण घाटा तर्फ जाने प्रवल सम्भावना देखिएको छ । मेघा पब्लिसिटीका साथ रिलिजको तयारीमा रहेको सायद यहि २९ गते देखि रिलिज हुदैछ तर विडम्बना २८ र २९ गते एक समुहले नेपाल बन्द आह्वान गरेकाले सायदको युनिट अहिले विजनेसको बिषयमा भगवान भरोसामा छ । यहि बन्दलाई ध्यानमा राखेर सायदले मोफसल रिलिज स्थगित गरेको छ । राजधानी बाहिर बन्दको प्रभाव पर्न छोडेपछि मात्र रिलिज गरिने निर्माता सुनिल रावल बताउँछन् ।
यस अघि गत शुक्रबार सम्झीराख है युनिटले यहि कुरो बुझेर होला रिलिज स्थगित गर्दा सो युनिट अहिले खुशी छ । उता जेठ १२ गते प्रदीप उदय निर्मित फिल्म मालतीको भट्टी रिलिज पनि यहि कारणले सर्ने करिब निश्चित भएको छ । यो बिषयमा प्रोड्यूसर उदयले भने, 'बन्दै बन्दको कारणले भरसक रिलिज रोक्छौ होला ।' गणेश देव पाण्डे निर्देशित सो फिल्म उदयको होम प्रोडक्सनको ईतिहासकै उत्कृष्ट फिल्म रहेको बताईएको छ जसको मेकिङ उच्चस्तरको रहेको निर्माण पक्षले दावी पनि गरेको छ ।
यो मात्र हैन बन्दको चपेटामा जेठ पाँच गते रिलिज हुने प्लान र अपवादमा पनि झट्का पर्ने अनुमान फिल्मकर्मीका बिच चलिरहेको छ । संविधान मिती जारी हुने बेलामा यहाँ बन्द कुन बेला आह्वान हुन्छ कसैलाई थाहा छैन । जसकारण एक दिने बन्दको असर तीन दिन सम्म पर्न जाने हुँदा प्रोड्यूसरको गोजी खाली हुन स्वाभाविक देखिन्छ । आउदो शुक्रबार देखि जेठ मसान्त सम्म संविधानको ह्याङले बजार तताउने हुँदा यो बिचमा निर्माता संघ, चलचित्र संघ र वितरकहरूको एक बोली हुनु जरूरी छ । किनकी यो एक महिना लस विजनेस समय भएकाले यस अघि चलिसकेका तर राम्ररी चल्न नपाएका राम्रा फिल्मलाई तीन निकायले पुनः रिलिज गरेमा सवैको भलो हुने देखिन्छ ।
जेठ १२ को रिलिज डेट सर्ने सम्बन्धमा मंगलबार फाईनल हुने मालतीको भट्टी सम्भावत सो डेटबाट सरेको खण्डमा जेठ मसान्त तिर रिलिज हुने प्रोड्युसर उदय बताउँछन् । फिल्ममा जीवन लुइटेल, रेखा थापा र नन्दिता केसी लिड रोलमा छन् ।