बैशाख २९ गते रिलिज हुन लागेको फिल्म 'सायद' अहिले सबैले प्रतिक्षा गरेको फिल्म हो । व्यसायिक सफलताको चुनौतीलाई बोकेर हिडेको यो फिल्म धेरै अनुहारलाई महत्वपूर्ण रहनेछ ।
सुरज सुब्बा 'नाल्बो' (निर्देशक)
धेरै समय अगाडी दुई फिल्मबाट नराम्रो झट्का पाएका सुरज सुब्बाले बाटो मुनिको फूलबाट धेरै आश देखाए । पाईरेसीका कारण फिल्मले व्यवसायिक सफलता पाउन नसके पनि हेरेका मध्ये अधिकांशले फिल्म र त्यो भन्दा बढि सुब्बा कै तारिफ गरे । त्यस्तै फिल्मले थुप्रै अवार्ड पनि हात पार्यो । अहिले यिनै निर्देशकले बनाएको अर्को फिल्म 'सायद' रिलिजको अन्तिम चरणमा छ । अब सुब्बाले आफ्नो पहिचान गुम्न नदिन पनि यो फिल्मको सफलता उनका लागि महत्वपूर्ण हुनेछ ।
सुनिल रावल (नायक/ निर्माता)
यसै फिल्मबाट डेब्यू गरेका सुनिल रावललाई त झन दुई बिधामा चुनौती छ । पहिलो कलाकारको रूपमा उनी नेपाली फिल्म जगतमा आउँदैछन् भने अर्को निर्माताको रूपमा । चारैतिरबाट सहयोग पाईरहेको बताउने सुनिलले व्यवसायिक सफलता आफ्नो नजिक पाईसकेको बताएका छन् तर कलाकारको रूपमा पाउने सफलताका लागि उनले रिलिज डेट नै कुर्नु पर्नेछ । फिल्म राम्रो बनाउन र दर्शक माझ पुर्याउन कुनै कन्जुस्याईं समेत नगरेको उनको भनाई छ ।
संयम पुरी (नायक)
सानो उमेर देखि नै कलाकार बन्दै आएका संयम नायकको रूपमा यसै फिल्मबाट डेब्यू गरेका हुन् । बालकलाकारको रूपमा त उनले प्रशंसा पाईसकेका छन् । तर नायकको रूपमा भने उनले कस्तो प्रतिक्रिया पाउने हुन् उनी आफैलाई पनि डर छ । हुनत फिल्म हेरे जतिले संयमको प्रशंसा मुक्तकण्ठले गरिसकेका छन् । तर पनि सार्वजनिक प्रदर्शन पश्चात आउने प्रतिक्रिया नै उनका लागि महत्वपूर्ण हुनेछ । फिल्मको केन्द्रिय पात्रको रूपमा नै संयम रहेका छन् ।
विल्सन विक्रम राई (कलाकार)
हाल तक्मे बुढाको नामले परिचित विल्सनका लागि पनि यो फिल्म महत्वपूर्ण रहनेछ । कारण अधिकांश फिल्ममा तेस्रो लिंगीको भुमिका निर्वाह गरेका विल्सन यस फिल्ममा भने भिन्न भुमिकामा प्रस्तुत भएका छन् । प्रोमोमा प्रस्तुत गरिएको उनको डाईलग '९८४१ बाँकी सबै आफै हान' अहिले निकै चर्चा छ । हाँस्यकलामा आफ्नो छुट्टै पहिचान बनाएका विल्सनले यस फिल्मबाट अर्को नयाँ पहिचान बनाउने आशा राखेकाले उनका लागि पनि यो फिल्म महत्वपूर्ण रहनेछ । फिल्ममा उनले देखाएको अभिनय कलालाई दर्शकले रूचाउनेमा दुइ मत नै छैन ।
संजय लामा (सिनेमाटोग्राफर)
कस्ले चोर्यो मेरो मन र बाटो मुनिको फूलबाट चर्चामा आएका सिनेमाटोग्राफर संजय लामाले यस फिल्मबाट पनि तारिफ पाउनेमा दुई मत छैन । उनले आफ्ना चर्चित दुई फिल्म भन्दा भिन्न शैलीले यो फिल्ममा क्यामेरा चलाएका छन् । छायाँकनमा आफ्नो जादु पस्केका संजयका लागि पनि यो फिल्म महत्वपूर्ण छ ।
यौन, लागू पदार्थ, मायाप्रेम जस्ता बिषयलाई बोकेर निर्माण गरिएको यस फिल्ममा झरना थापा बाहेकका सबै मुख्य पात्र नयाँ छन् त्यसैले पनि ति सबै कलाकारका लागि यो फिल्म महत्वपूर्ण छ । र, अन्तमा यो फिल्म साँच्चिकै भन्नु पर्दा उधोगको लागि पनि महत्वपूर्ण छ । ०६९ सालमा आश गरिएको फिल्म मध्येको पहिलो स्थानमा अहिले यहि फिल्मलाई हेरिएको छ । फिल्म हेरे जतिले त भनेका पनि छन् कि यि कलाकार र प्राबिधिक नभएको भए सायद 'सायद' बन्ने थिएन । हेरौं अब फिल्मले दर्शकमाझ कस्तो छाप छोड्ने हो । आशा गरौं यो बर्षको व्यापारिक सफलतालाई सायदले एउटा उचाईमा पुर्याउने छ ।