
नेपालको एक प्रमुख व्यापारिक घराना अर्थात चौधरी ग्रुपले सिजी इन्टरटेन्मेण्टको व्यानरबाट निर्माण गरेको फिल्म 'भिजा गर्ल' को रिलिज डेट घोषणा गरिएको छ । आईतवार राती राजधानीमा आयोजित मिस नेपाल कार्यक्रममा फिल्म युनिटले आफ्नो फिल्मको रिलिज डेट घोषणा गरेको हो ।
प्रोमोशन गर्ने क्रममा कार्यक्रममा फिल्मको गीत गाउने क्रममा अभिनेताद्धय विनय श्रेष्ठ र रेमनदाश श्रेष्ठले फिल्मको रिलिज डेट सेप्टेम्बर २८ घोषणा गरेका हुन् । कालिप्रसाद बाँस्कोटाको संगीतमा श्रेया सोताङको साथमा रेमन र विनयले फिल्मको कहाँ भेटौं बोलको गीत गाएका थिए । फिल्मका अर्का अभिनेता कर्मले पनि गीत गाउने कार्यक्रम थियो तर उनी उपस्थित हुन सकेनन् । यिनै कलाकारले फिल्मको सो गीतमा पनि स्वर दिएका छन् ।
कार्यक्रममा गीत प्रस्तुत गर्नु पूर्व फिल्मको डाईलग प्रस्तुत गरिएको थियो । युवानिर्देशक प्रचण्डमान श्रेष्ठको लेखन तथा निर्देशन रहेको सो फिल्ममा ऋचा शर्मा, विनय श्रेष्ठ, कर्म, रेमनदास श्रेष्ठ, रीमा बिश्वकर्मा, सलोनीराज भण्डारी र मेनुका प्रधानको मुख्य भुमिका रहेको छ । भिजा गर्ल युवाहरूको मनोविज्ञानलाई मुख्य विषय बनाइएको सोसल कमेडी फिल्म हो ।