
अमेरिकामा प्रदर्शन हुन लागेको फिल्म 'सायद' को प्रोमोशनका लागि आयोजक आईच प्रोडक्सनले झिल्के कान्छीको भिडियो तयार गरेको छ । आफुले मन पराएकी कान्छीलाई फकाउन झिल्केले सायदको साहारा लिएको भिडियोमा हेर्न सकिनेछ ।
मे ११ तारिखका दिन न्यूयोर्कको ज्याक्सन हाईटमा प्रदर्शन हुन लागेको सो फिल्मको बारेमा जानकारी गराउँदै दर्शकलाई ध्यान केन्द्रित गर्न आयोजकले झिल्के र कान्छिको भिडियो तयार पारेको हो । न्यूयोर्कको कुईन्समा अवस्थित ज्याक्सन हाईट सिनेमा सेन्टरमा ११, १२ र १३ तारिखको दिन फिल्म प्रदर्शन हुने न्यूयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो ।
'शिक्षाको लागि सिनेमा' भन्ने मूल नाराका साथ प्रदर्शन गर्न लागिएको सो फिल्मबाट उठेको रकम मध्ये केहि नेपालमा रहेका बिभिन्न स्कुलमा पुस्तकालय स्थापनार्थ सहयोग गरिने भएको छ । फिल्म सायद न्यूयोर्क पछि बोस्टन हुँदै अन्य स्टेटमा रिलिज गरिने आयोजकको भनाई छ । नेपालमा पनि मे ११ तारिखका दिन नै रिलिज हुने सो फिल्म युके र अष्ट्रेलिया पनि सोही समयमा रिलिज हुनेछ ।
यस्तै प्रोमोशनका लागि सायद युनिटले कलेज जीवनको अविष्मरणीय क्षण आफूलाई सेयर गरि कलाकारसँग फिल्म हेराउने कन्टेस्ट शुरू गरेको छ । निर्माता सुनिल रावलका अनुसार कलेज जीवनमा घटेको अविश्मरणिय घटनालाई पठाउने मध्येबाट उत्कृष्ट छानेर कलाकारसँग फिल्म हेर्ने मौका दिईने छ । युवापुस्ताको मन जित्न र फिल्मको कथा पनि कलेज जीवनसँग टच भएकाले यस्तो कन्टेस्ट राखिएको सुनिलले बताए । आफ्नो अनुभव पठाउनका लागि युनिटले बैशाख २६ गते सम्मको मिती तोकेको छ ।
सुरज सुब्बा निर्देशित फिल्म सायदमा सुनिल रावल, झरना थापा, संयम पुरी, विल्सन विक्रम राई (तक्मे बुढा), किशोर सम्बाहाम्फे, अनिता दाहाल, अराज केशब लगायतले अभिनय गरेका छन् । युवापुस्ता केन्द्रित उक्त फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् भने फिल्ममा संजय लामाको छायांकन, गोबिन्द राई र आरज केशवको कोरियोग्राफी तथा स्याडोज ब्याण्डको संगीत रहेको छ | सायद पछिल्लो समयको आश गरिएको फिल्म हो ।
Click Here - झिल्के कान्छीको भिडियो