
भोली शुक्रबारबाट दुई नयाँ फिल्म 'फूल' र सम्झिराख है' प्रदर्शनमा आउने छन् । शिब रेग्मी निर्देशित फूल देशभरका ४५ वटा पर्दामा प्रदर्शन हुनेछ भने रेम बिक निर्देशित फिल्म 'सम्झिराख है' मोफसलका केहि हलमा रिलिज हुनेछ ।
मित्रता सिने मुभिज प्रालिको ब्यानरमा सन्जित कुमार कानु (बब्लु), चन्द्र (वझा) श्रेष्ठ, सुनील श्रेष्ठ, यमनाथ दनै र क्रन्दन मास्केले संयुक्त रूपमा निर्माण गरेको फिल्म फूल हाँस्यप्रधान छ । साथमा फिल्मले नारी संवेदनालाई पनि उठान गरेको छ । शिब रेग्मी र विकाश आचार्यको संयुक्त लेखन रहेको सो फिल्ममा राजबल्लभ कोईराला, निरज बराल, गरिमा पन्त, निर शाह, युवराज लामा, सिर्जना बस्नेत, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मलाई निर्देशक रेग्मीले आफ्ना राम्रा फिल्म मध्ये फूल पनि एक रहेको प्रतिक्रिया दिंदै आएका छन् । यसै फिल्मबाट रेखा पौडेलले पार्श्व संगीतकारको रूपमा डेब्यू गरेकी छिन् ।
रेडलाइन फिल्म्स् प्रालिको व्यानरमा कविता खकुरेलले निर्माण गरेको फिल्म 'सम्झिराख है' सामाजिक प्रेमकथामा आधारित छ । सुमन सिंह, जीके शर्मा, गणेश गिरी, अर्चन केसी, प्रेम पुरी, रविन्द्र खड्का, सुशील पोखरेल लगायतका कलाकारहरु रहेको फिल्म सम्झिराख हैबाट अस्मिता कँडेलले डेब्यू गरेकी छिन् । फिल्ममा दीपक शर्माको संगीत छ । बैशाख २९ गते राजधानीमा रिलिज हुने यो फिल्म पनि हाँस्य रसको साथमा संवेदनाले भरिपूर्ण छ । फिल्मको कथा निर्देशक बिकले नै लेखेका हुन् ।