
गत शुक्रबार क्यूएफएक्स च्यानलको कुमारी हलमा हलिउड फिल्म टाईटानिक हेर्न गएका दुई दर्शक ठगिएको बिषयमा क्यूएफएक्सले माफी माग्दै फटाई गर्ने आफ्नो कर्मचारीलाई बर्खाष्त गरेको छ ।
बुधबार बिहान जय नेपाल हलमा रहेको क्यूएफएक्स कार्यालयबाट गरिएको अन्तिम छानविनबाट निस्किएको रिजल्ट पश्चात टिकेटिङ तर्फ कार्यरत अभिनय राणा बर्खाष्त भएका हुन् । 'उसलाई यस अघि पनि बिभिन्न बिषयमा हामीले नोटिस गरिरहेका थियौ तर यो पटक उसको सानो गल्तीले नम्बर वान कम्पनीको बेईज्जत भएको छ तसर्थ बर्खाष्त गरेका हौ र यो बिषयमा म ठगिने दुई साथिसंग माफी पनि माग्छु', क्यूएफएक्स अध्यक्ष नकिम उद्दीनले भने ।
विगत तीन बर्षदेखि कार्यरत राणा पहिले जय नेपाल हलमा कफी काउन्टरमा काम गर्थे जहाँबाट पटक-पटक उनले कमिसन खाएको शंका लागेपछी उनलाई कुमारीमा सिफ्ट गरिएको थियो तर कुमारीको काउन्टरबाट पनि उनले दर्शकलाई झुक्याएर टिकट बेचेको प्रमाण फेला पारे पछी क्यूएफएक्सले कागज गरेर उनलाई बर्खाष्त गरेको हो । कागजमा राणाले आफू दोषी भएको स्वीकारेका छन् ।
डिसीएन प्रबन्ध निर्देशक अशोक शर्मा, ठगिएका दुई दर्शक प्रदीप भट्ट र सन्देश कुलङको सहयोगमा क्युएफएक्स आईटि डिर्पाटले अनुसन्धान गरी राणालाई दोषी ठहर गरेको हो । अनुसन्धानमा फोन मार्फत बुकिङ गरिएको टिकट निर्धारित समय २ बज्नु भन्दा ४ मिनेट अघि सुनियोजित ढङ्गले रिलिज गरिएको देखिएको छ जहाँ दोषी राणाले ६ सय ८० लिएर एउटामा पुरै रकम ३ सय ४० रुपैया उल्लेख भएको र अर्को फ्रि पास त्यसमाथि माथि पनि स्ट्याप्लर मारेर दिएको पाईएपछी उनी दोषी ठहरिएका हुन् । क्यूएफएक्सले दर्शकलाई टिकट दिदा स्ट्याप्लर मारेर दिदैन ।
राणाले क्लब क्यूएफएक्स मेम्बरमा दर्ता भएका आफ्नो साथी प्रविण मानन्धरको फ्रि पास मेम्बर कार्डलाई गलत ढङ्गले प्रयोग गरी ३ सय ४० रुपैया आफ्नो गोजीमा हालेको पुष्टी भएपछी क्लब मेम्बर मानन्धरको पनि मेम्बरसिप डिसमिस गरिएको छ । 'हामी कहाँ २० हजार दर्शक क्लब क्यूएफएक्सका मेम्बर छन् तर यसरी मेम्बरसिपको गलत प्रयोग भएको पाएपछी उहाँको पनि मेम्बरसिप डिसमिस गरेका छौ', अध्यक्ष उद्दीनले भने ।
यस्तै राजश्व छली भनी फिल्मीखबरमा लेखिएको हेडलाईनको बिषयमा केन्द्रित रहेर उद्दीनले भने, 'हामीले राजश्व छलेका हैनौ र छल्ने पनि छैनौ त्यसैले हाम्रो कर्मचारीको कारण आगामी दिनमा कोही दर्शक ठगिए कम्प्लेन गरे हुन्छ अझ सजिलोको लागि फेसबुक फ्यान पेजमा गएर बिषयमा जानकारी गराउन पनि म आग्रह गर्छु ।' यस्तै आगामी दिनमा कुनै दर्शकले आफ्नो कर्मचारीका गाली बेईज्जती वा अन्य समस्या भोग्नु परेमा त्यसको निराकणका लागि हरेक कर्मचारीको नाम लेखिएको स्टिकर ड्रेसमा अनिवार्य राख्ने र फ्रि पास कुपनमा आगामी दिनमा रुपैया उल्लेख गरी पास कुपन भनी हाईलाईट गरिने निर्णय पनि गरिएको उद्दीनले जानकारी गराए ।
रिलिज हुन लागेको फिल्म चन्द्रावतीको प्रोड्यूसर समेत रहेका ठगिएका दर्शक प्रदीप भट्टले आफू सभ्य नागरिक भएकाले ठगिएको बिषयमा आवाज उठाएको बताए । उनले भने, 'मेरो फिल्म रिलिज हुदैछ भनेर मैले चर्चाका लागि यो कदम चालेको हैन । एउटा निर्माता भएको नाताले भोली यो पिडा म लगायत अन्य निर्माता र स्वयम हल संचालक र वितरक सहित सरकार समेत राजश्व संकलनबाट नठगिओस भनेर आवाज उठाएको हुँ ।' यस्तै अनुसन्धानमा संग्लन अशोक शर्माले कर्मचारीको सानो चोरीले समग्र चलचित्र उद्योग प्रति प्रश्न उठे पछी यथार्थताका लागि अनुसन्धानमा सहयोग गरेको बताए ।
अघिल्लो समाचारको लिंक : क्यूएफएक्सको राजश्व छली