
शोभित बस्नेत निर्देशित फिल्म 'प्लान' को मंगलबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बिच अडियो विमोचन गरियो । बरिष्ठ निर्देशक शिब रेग्मी, चलचित्र संघका महासचिव प्रदिप उदय, निर्माता केशब भट्टराई, सञ्चारकर्मी शान्ति प्रिय, छायाँकार शम्भु सापकोटा, द्धन्दनिर्देशक राजेन्द्र खड्गी सहित फिल्मका कलाकार र निर्माता निर्देशकले संयुक्त रूपमा अडियो विमोचन गरेका थिए ।
जेष्ठ ५ गते देशभरका हलमा लाग्ने सो फिल्मको अडियो विमोचन समारोहमा बोल्दै निर्देशक शिब रेग्मीले फिल्मको सफलताको कामना गरे । उपस्थित अतिथीहरूले पनि फिल्मको सफलताको कामना गरे । प्लानबाट डेब्यू गरेकी नायिका रागिनी खड्गीले आफ्नो तर्फबाट सक्दो मेहनतका साथ राम्रो काम गरेको बताईन् । यस्तै सोही फिल्मका नायकद्धय मुकेश ढकाल र ध्रुब न्यौपानेले पनि फिल्म राम्रो बनेको बताए । निर्माता कविता श्रेष्ठले पनि फिल्म मेहनतका साथ राम्रो बनाउने प्रयास गरेको बताउँदै एक पटक हेरिदिन सबैलाई आग्रह गरिन् ।
'प्लान' मा मुकेश ढकाल, रागिनी खड्गी, सुनिल थापा, धिरेन शाक्य, अनुष्का ढकाल, मोहन निरौला, शोभित बस्नेत, ध्रुव न्यौपाने, अनिता दाहाल, राजेन्द्र खड्गी लगायतले अभिनय गरेका छन् । डिजेहरुको अर्न्तद्धन्द्धलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरीएको यस फिल्ममा दिनेश न्यौपानेको लेखन, राजेन्द्र खड्गीको द्वन्द, प्रमोद ढुंगानाका गीत, राम श्रेष्ठको संगित, शिव बिकको नृत्य तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।
कार्यक्रमका केहि तस्विरहरू - Movie Plan Audio Release