जेष्ठ १९ गतेबाट नेपालभरका हलमा प्रदर्शन हुने भनिएको फिल्म 'किन लाग्छ माया' को शिर्ष गीत यतिबेला निकै चर्चामा छ । प्रमोद ढुंगानाको शब्द तथा लक्ष्मण शेषको संगीतमा प्रमोद खरेलले गाएको सो गीतलाई सञ्चारमाध्यमले राम्रै स्थान पनि दिएको छ ।
गीत हिट हुनुको कारण के होला त ? संगीत सर्जक लक्ष्मण शेष भन्छन्, 'सञ्चारमाध्यम र स्रोताले संगीतको वजनलाई बुझ्दिनाले नै हिट भएको हुनसक्छ ।' नेपाली संगीतमा प्राय एउटै ढर्रा प्रयोग भईरहेको अवस्थामा आफूले केहि नयाँ चिज दिएकाले पनि रूचाईएको हुन सक्ने लक्ष्मणको दाबी छ । पश्चिमेली संगीतमा नेपाली मौलिक पनको फ्युजन गराएकोले आज हरेकको मनमा यो गीत बस्न सफल भएको उनी बताउँछन् ।
गित हिट हुन मेलोडीले मात्र पुग्दैन शब्द चयन र आवाजले पनि त्यतिकै महत्वपूर्ण भूमिका खेल्छ । यो कुरालाई स्विकार्दै लक्ष्मण भन्छन्, 'मेलोडीको सिर्जना गर्न मलाई त्यति गार्हो भएर तर यसमा स्वर दिन भने मै हुँ भन्ने गायकले पनि सकेनन् ।' नेपालका चर्चित तीन गायकलाई गाउन लगाउँदा नसकेर अन्तिममा प्रमोद खरेललाई दिएको बताउँदै लक्ष्मणले भने, 'हामी त मुम्बई जाने तयारीमा थियौं तर एक पटक प्रमोदलाई दिने कुरा चलेपछि बोलाएर गाउन लगायौं । उहाँले मेरो फिलिङ्सलाई बुझे जस्तो लाग्यो र ५ दिन लगाएर गीत रेकर्डिङ गर्यौं ।'
मेलोडी सिर्जनाको घटना सम्झदैं लक्ष्मण भन्छन्, 'फिल्मको लोकेशन हन्टका लागि कुष्मा जाँदै गर्दा बाटोमा एक्कासी आएको हो यो मेलोडी । राती करिब ११ बजे तिर कोठामा पुगेपछि मैले मेलोडीलाई पूर्ण रूप दिएको हुँ ।' संगीत सिर्जनामा खासै धेरै मेहनत गर्न नपरे पनि आज सबैले आफ्नो सिर्जनालाई रूचाई दिएकाले निकै खुसी लागेको उनी बताउँछन् । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको फिल्म 'किन लाग्छ माया' लाई शक्तिबल्लभ घोरासैनीको प्रस्तुतीमा आनन्द अधिकारी, श्यामकृष्ण श्रेष्ठ र शंकर दुलालले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
प्रेममा हुने रोमान्स, दुखान्त अनि कमेडी पनलाई प्रस्तुत गरिएको उक्त सामाजिक फिल्ममा निखिल उप्रेती, झरना थापा, राजबल्लभ कोईराला, गरिमा पन्त र शंकर लामिछानेको मुख्य भुमिका रहेको छ ।
गीत सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोला

