
दुई भोटको अन्तरले चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा निर्वाचित भएका विमल पौडेल माओवादी निकट चलचित्रकर्मी हुन् । जसको टाईअप सिधै चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीसंग छ । यो बर्ष विविध कारणले पौडेल विवादमा आईरहे । जसको दवावले निर्देशक समाजको निर्वाचन निर्धारित समय भन्दा तिन महिना अघि नै हुन गयो । यसै सन्दर्भमा विमल पौडेल समाजको अध्यक्ष पदमा निर्वाचित भएको प्रसङ्गमा केन्द्रित रहेर फिल्मीखबर प्रतिनिधि फरक कोणले केही चलचित्रकर्मीसंग प्रतिक्रिया लिएका छन् ।
राजकुमार राई, अध्यक्ष (चलचित्र निर्माता संघ) : हिजोको कार्यकालमा एउटा छुट्टै अर्थ राख्ने गरी सामुहिक एजेण्डामा नमिलेको जस्तो देखिने समाजमा आगामी दिनमा त्यस्तो गतिविधि देख्न नपाईयोस् । तसर्थ निर्माता संघले जसले जिते पनि स्वीकार गरेको छ । विशेषत कुनै पनि चलचित्रसंग सम्बन्धीत संघसंस्था एक्लो हिड्नु हुदैन जुन कुरालाई विमल पौडेलले बुझ्नु पर्छ र सहकार्यको भावनालाई अगाडी बढाउनु पर्छ । निर्माता संघको तर्फबाट मेरो भनाई यति छ कि संघसंस्थामा ब्यक्ति हावी भन्दा सामुहिक एजेण्डामाथि भएमा संस्था सफल हुने हो र यो कुरालाई विमल जीले बुझ्नु हुन्छ जस्तो लाग्छ ।
रमेश बुढाथोकी, अध्यक्ष (कलाकार संघ) : पुरानो चलचित्रकर्मी निर्देशक समाजको अध्यक्ष भएकाले खुशी लागेको छ । तसर्थ यो कार्यकालमा उहाँले विगतका कार्यकालमा समाजले गरेका केही उपलब्धी मुलक कार्यलाई निरन्तरता दिनुहुने छ भन्ने विश्वास लिएको छु साथै नयाँ भिजन सहित समग्र निर्देशकहरूलाई एकबद्ध भएर अगाडी बढेमा उहाँको कार्यकाल सफल हुने देख्छु म ।
योगेन्द श्रेष्ठ, अध्यक्ष (द्धन्द कलाकार संघ) : सर्वप्रथम त अध्यक्षमा निर्वाचित भएकोमा उहाँलाई बधाई साथमा निर्देशक समाजलाई राजनीतिक पार्टी तर्फ केन्द्रित नगरी उद्योगलाई माथि पुर्याउन म विमल जीलाई सुझाव दिन्छु । त्यसमाथि पनि नयाँ निर्देशकहरूलाई आफ्नो संस्थाको दायरामा ल्याएर कार्यकाल अगाडी बढाएमा उहाँ सफल भएको मानिने छ ।
प्रदीप उदय, महासचिव (चलचित्र संघ) : चलचित्र संघको तर्फबाट उहाँलाई बधाई एवं शुभकामना । चलचित्र उद्योगको बृहत्तर विकासका निम्ती उहाँले राम्रा काम गर्नुहुने छ भन्ने हामीले अपेक्षा राखेका छौ ।
रोज राणा, निर्माता : यसअघि उपाध्यक्ष पदमा रहनु भएका विमल पौडेलले सो कार्यकाललमा अध्यक्षले गर्न नसकेका कामलाई आफ्नो कार्यकालमा पुरा गरेमा उहाँको तारिफ हुने छ । त्यस्तै जसरी पछिल्लो समय टेक्निक्ली फिल्मले फड्को मारेको छ सोही अनुरूप विभिन्न वर्कसप गरेर निर्देशकलाई अझै सक्षम बनाउन पहल गरेमा उहाँको कार्यकाल सफल भएको मानिने छ तसर्थ विमल पौडेल अध्यक्षमा विजयी हुनु ठूलो कुरा भएन समग्र निर्देशकहरूलाई उहाँले आगामी दिनमा कसरी डोर्याउनु हुन्छ त्यो नै उहाँको परीक्षा हुने छ ।
छवि ओझा, निर्माता : दुई कार्यकाल उपाध्यक्ष भएकाले उहाँले सवैकुरा बुझ्नु भएको छ त्यसैले म यति भन्छुकी समग्र निर्देशकहरूलाई समेटेर उहाँले आफ्नो काम कारबाही र योजना अगाडी बढाएमा उद्योगको लागि राम्रो हुन्थ्यो । साथै उहाँले यो कार्यकालमा राम्रो फिल्म उत्पादन गर्ने माहोल बनाउनु पर्छ जस्तो लाग्यो त्यति गरेमा उहाँ सफल भएको मानिने छ ।
उज्जवल घिमिरे, निर्देशक : सुरूमा उहाँलाई बधाई दिन चाहन्छु । विशेष गरी उहाँले निर्देशकहरूको हक हितको पक्षमा भन्दा पनि क्रिएटिभ काम गरेर आफ्नो कार्यकाललाई अगाडी बढाएमा उहाँ सफल मानिनु हुनेछ । हक हितको लागि सवै निर्देशक बुझेका छन् तर वर्कसप, सेमिनार र गोष्ठीको अभावले क्रियटिभ कुराहरूबाट निर्देशकहरू बञ्चित हुनु परेको अवस्था छ । तसर्थ, उहाँले वर्कसप तर्फ आफ्नो ध्यान बढी केन्द्रित गरे समग्र निर्देशकहरूका लागि राम्रो हुने थियो ।
शिव रेग्मी, निर्देशक : जसरी अघिल्लो कार्यकालमा निर्देशक समाजले अर्न्तराष्ट्रिय वर्कसप गरेर निर्देशकहरूको अभिब्यक्ति विकास गर्न महत्वपूर्ण कदम चालेको थियो त्यो कुरालाई विमल जीले पनि निरन्तरता दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । निर्देशक भनेको सर्जग हो जसको दिमाग तिखारिनु जरूरी छ ।