नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितीका लागि अध्यक्ष पदमा विमल पौडेल बिजयी भएका छन् । आफ्ना प्रत्याशी उमेदवार उदय सुब्बालाई २ मतको झिनो अन्तरले हराउँदै पौडेल नयाँ कार्यकालका लागि अध्यक्ष पदमा बिजयी भएका हुन् ।
आईतबार समाजको कार्यलयमा भएको चुनावमा बिमलले खसेको कुल ५० मतमा २६ मत प्राप्त गरे भने प्रतिद्धन्दी उदयले २४ मत प्राप्त गरे । मतदानका लागि ५९ निर्देशकको नामावली भए पनि ९ जना निर्देशक अनुपस्थित भएका कारण ५० जनाले मात्र मत खसालेका थिए । २ मतले हारेका उदयलाई संस्थापक अध्यक्ष युवराज लामाको पहलमा समाजको सल्लाहकार समितीमा राखिएको छ ।
यता अध्यक्ष बाहेक अन्य सबै पद निर्बिरोध भएको छ । जसमा उपाध्यक्ष पदमा सुभाष गजुरेल र प्रमोद भण्डारी, महासचिवमा राजेन्द्र उप्रेती, सचिवमा अग्रज केसी, कोषाध्यक्षमा राकेश मानन्धर र सह-कोषाध्यक्षमा राजु केसी निर्वाचित भए । त्यस्तै सदस्य पदमा शोभित वस्नेत, श्याम भट्टराई, देवकुमार श्रेष्ठ, रामशरण पाठक, रामजी लामिछाने विजयी भए । यता मुख्य सहायक निर्देशक तर्फबाट सदस्य पदमा गोकुल कुमार राई र दुर्गाप्रसाद नेम्वाङ निर्बिरोध चयन भए ।
बिजयीहरूलाई संस्थापक अध्यक्ष लामा र निवर्तमान अध्यक्ष केपी पाठकले अबिर र माला लगाईदिएर स्वागत गरे भने निर्वाचन समितीका प्रमुख मदनदाश श्रेष्ठले सपथ ग्रहण गराएका थिए । बिजयी भएपछि कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले नेपाली फिल्म उधोगको सेवा गर्न आफूलाई सम्पूर्ण फिल्मकर्मीको साथ र सहयोग चाहिने बताए । साथै उनले सर्जकहरूको हक र हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस् - 8th Anniversary of Film Directors Guild of Nepal

