
आफुले निर्माण गरेको पहिलो फिल्म इकु द जंगल म्यानबाट पूर्वेली दर्शकको राम्रो साथ पाएका कलाकार सुलेमान शंकर फेरी पनि पूर्वेली दर्शकले इकुको पार्ट २ को रुपमा निर्माण भएको फिल्म इकु ब्याक अगेनलाई समेत रुचाई दिएपछि शनिबार हर्षित रुपमा प्रस्तुत भए ।
आफ्नो फिल्मको प्रोमोसन गर्न पुर्व आइपुगेका शंकर शनिबार फिल्म प्रदर्शन भैरहेको दमक स्थित निलकण्ठ चित्र मन्दिरमा पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए । नायिका एवं सुलेमान श्रीमती जया शंकर पनि आफुले कलाकारको रुपमा गरेको पहिलो प्रयास बुझ्न श्रीमानसंगै पुर्व आएकी छिन् । हल प्रवेश गर्न साथ त्यहाँ फिल्म हेर्न पुगेका दर्शकले दुवै जनालाई घेरेका थिए । फिल्म हेरिसके पछि दर्शकको प्रतिक्रिया सकारात्मक पाए पछि दुवै खुसि भएका थिए । आफुले गरेको मेहनतलाई दर्शकले राम्रो मूल्याङ्कन गर्दिंदा सुलेमानले उपस्थित दर्शकलाई आभार ब्यक्त गरे ।
हलमा दर्शक संगै फिल्म हेरे पछि स्थानीय संचारमाध्यममा समेत शंकर जोडीले फिल्मको प्रोमोसन गर्न भ्याएका थिए । सुलेमान संचारमाध्यमका अलावा आईतवार दमकमा रहेका स्कुलमा पुगेर विद्यार्थी माझ समेत फिल्मको प्रोमोसन गर्ने तयारीमा छन् । आफ्नो फिल्मको लक्षित दर्शक बालबालिका एवं स्कुल विद्यार्थी भएकोले सो प्रकारको प्रोमोसन गर्न लागेको उनको जिकिर थियो ।
निलकण्ठ दमक संगै फिल्म पूर्वको भिलेज सिनेमा उर्लाबारी, सुकुना बिराटचोक, किरण झुम्का लगायतका हलमा समेत प्रदर्शन भैरहेको छ । पूर्वका हलमा फिल्मको ओपेनिंग कलेक्सन औसत रहेको जानकारी वितरक एवं हल संचालकहरुले गराएका छन् । काठमाडौँ र पश्चिमका केहि स्थानमा गत ८ गते रिलिज भएको फिल्म पूर्वमा भने हिजोबाट प्रदर्शनमा आएको हो ।