
गल्ती पनि आफ्नै छ अनि कुरा पनि आफ्नै माथि राख्दा त्यो जति हाँस्यास्पद र लाजमर्दो अरु के होला र ? तर चलचित्र विकास बोर्ड जस्तो गरिमामय संस्थामा अध्यक्ष भैसकेका र मन्त्रीको सल्लाहकार समेत भैसकेका निर्देशक शैलेश आचार्यको चाला हेर्दा शनिबार फिल्मीखबर अचम्ममा पर्यो ।
हाल सम्म निर्देशक समाजको सदस्य नबनेका उनी उमेरको हिसावले पाका निर्देशक हुन् तर समय परिवर्तन भईसके पनि आचार्य परिपक्व नभएको देख्दा फिल्मीखबरलाई निकै नमज्जा लाग्यो । बिकास बोर्डका सदस्य निलहरी काफ्लेलाई डोर्याएर आचार्य सदस्य बन्न पाउँ भन्ने निवेदन बोकेर चुनावको अघिल्लो दिन समाजको कार्यालय पुगेका थिए र उनको साथमा थियो भाई विकास आचार्यको सदस्य बन्ने निवेदन फर्म पनि । जहाँ पुग्न नपाई उनले समाजका अध्यक्ष केपी पाठकलाई धम्कीको भरमा आफ्नो सदस्यता जसरी भए पनि स्वीकार गर्नुपर्ने दवाव दिएका थिए । तर पाठकले ढिला भैसकेको भन्दा उनले कुनै पनि प्रसङ्गले आफूलाई सदस्य बनाउन लामै समय आग्रह गरे जवाफमा अध्यक्ष पाठकको बोली ननिहुरिएपछी बाघ जस्तो भएर आएका शैलेश स्याल जसरी फर्किएका थिए ।
अध्यक्ष पदमा उठ्ने दाऊ सहित उनी शनिबार समाजको कार्यालय पुगेका हुन तर समाजले गत दश गते नै नयाँ सदस्य बन्ने प्रक्रिया निर्वाचन नसकिउन्जेल सम्म स्थगित भएको जनाएको खबरले केही आक्रोसित बनेका आचार्य भन्दै थिए, 'परम्परागत शैलीलाई मान्ने हुँदा म आज आएको हुँ तर यहाँ कानुन अर्कै बनाईएछ ।' त्यस पश्चात उनले विधान र कानुनको प्रसङ्ग कोट्याएका थिए जुन तर्क समाजको विधानसंग मिल्ने थिएन ।
समाजको विद्यानमा निर्वाचन सम्बन्धी बाधा अडचन फुकाउने अन्तिम अधिकार कार्यसमितिलाई दिईएको छ जसकारण हरेक निर्णयको अधिकार उसमा केन्द्रित भएकाले समाजको कार्यसमितिको बैठकले निर्वाचनमा चलखेल नहोस भनेर निर्वाचन नसकिउन्जेल सम्मका लागि नयाँ सदस्य बन्न नपाईने निर्णय गरिसकेको छ । तर देश खाएर शेष हुन लागेका आचार्यले धम्कीको शैलीमा शनिबार समाजको कार्यालयमा गतिविधि देखाउदाको दृश्य भने नमिठो थियो ।