
आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म भैहाल्छ नी टिमले अनाथ आश्रमलाई आर्थिक सहयोग गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि युनिटले भूमिसुधार राज्यमन्त्री ज्वाला कुमारी शाह ज्वाला कुमारी शाहको हातबाट नगद रू ५० हजार १ सय सो आश्रमलाई हस्तान्तरण गरेको हो ।
गत बैशाख ९ गते राजधानीको अष्टनारायण हलमा भगवती क्लब, टोखाको आयोजनामा गरेको च्यारिटी शोबाट उठेको रकम मध्येबाट छुट्याएर फिल्मको निर्माण टिमले सहयोगी आत्मनिर्भर अनाथ आश्रमलाई उक्त रकम सहयोग स्वरूप दिएको हो । कार्यक्रममा मन्त्री शाहले सामाजिक कार्यमा फिल्म युनिटले बढाएको हातको प्रशंशा गर्दै फिल्मको सफलताको कामना गरिन् । त्यस्तै बरिष्ठ निर्देशक तुलसी घिमिरे र निर्माता प्रदिप उदयले पनि युनिटको प्रशंशा गर्दै फिल्मको सफलताको कामना गरे ।
फिल्मले शुक्रबार सन्तोषजनक व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । शनिबारबाट व्यापारमा पिकअप लिने युनिटले आश गरेको छ । फिल्म 'भैहाल्छ नी' लाई एमएस अग्रजले निर्देशन गरेका हुन् । नेपाली समाजको राम्रा नराम्रा रूपरंगलाई यथार्थ ढंगले चित्रण गरिएको सो फिल्ममा सुमन सिंह, गरिमा पन्त, नवनायक विशाल पोखरेल, सोनिया केसी, सुनील थापा, अशान्त शर्मा, सुवास कार्की, कमलकृष्ण लगायतले अभिनय गरेका छन् । कलर्स मुभि एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा आरके पाण्डे र दिनेश अधिकारीले निर्माण गरेको सो फिल्ममा यादव गोबिन्दको संगीत रहेको छ ।