
‘ईकु द जंगलम्यान’को दोस्रो सँस्करण ‘ईकु ब्याक अगेन’ को प्रचारप्रसारका लागी शुलेमान शंकर ‘ईकु’ आफ्नो ससुराली घर पोखरा आईपुगेका छन् । ईकु सहित पोखरामा फिल्मका निर्देशक सागर लामिछाने, नायिका तथा ईकुका श्रीमती जया शंकर तथा निर्माण नियन्त्रक बुद्धिलाल मगरको टोली पोखरा आईपुगेको हो । पोखरा आएलगत्तै उनीहरुले स्थानिय विग एफएमसंग अन्तरवार्ता दिँदै पोखरेली छोरी र ज्वाँईले बनाएको र अभिनय गरेको फिल्म भएकोले सबै पोखरेलीलाई हेर्नका लागी चुल्है निम्तो दिए ।
‘जया पोखराकै चेली हुन् र म हजुरहरु सबैको ज्वाँई’, फिल्मका प्रोटागोनिस्ट रहेका सुलेमान शंकर ‘ईकु’ले भने–‘त्यसैले सबै पोखरेलीहरुले छोरी ज्वाँईको फिल्म हेरेर सहयोग गरिदिनुहोला ।’ ईकुको पहिलो भाग भन्दा यो फिल्म हरेक ढंगले बलियो र उत्कृष्ट रहेको भन्दै सुलेमान फिल्म परिवारका सबै सदस्यले एकसाथ बसेर हेर्न सक्ने दावी गरे । फिल्ममा ईकुले गरेको चरित्र र प्रोमोमा देखाईएको राउटेको कथा प्रति दर्शकहरुको उत्सुकता बढि देखिएको छ ।
फिल्ममा राउटेहरुको परिवेश, लवाईखवाई, भेषभुषा र बोलिचाली सबै कुरा स्थलगत अध्ययन र अनुसन्धानको आधारमा समावेश भएकोले अझै बढि यथार्थ देखिएको फिल्मका निर्देशक सागर लामिछानेले दावी गरे । फिल्ममा ओस्कर अवार्ड नोमिनेसनमा परेको फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप राउटेहरुको मुखियाको भुमिकामा देखिएका छन् । पोखराको वाराही चलचित्र घरमा बैशाख ८ गतेदेखि प्रदर्शनमा आएको ईकुको कलेक्सन भने सोँचेअनुरुप नरहेको हलका संचालक उत्तम द्वाले बताए । ‘फिल्मको पहिलो साताको कलेक्सन त्यति राम्रो छैन’, उनले भने–‘हेरौँ दोस्रो सातामा कस्तो हुन्छ ।’ पहिलो साता राम्रो कलेक्सन नगरेको कतिपय फिल्महरुले दोस्रो साताबाट पिकअप लिएको कैयौँ उदाहरणहरु छन् ।
काठमाण्डौ सहित पोखरा र नारायणघाटमा प्रदर्शनमा आएको फिल्म बैशाख १५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । प्रचारप्रसारका लागी पोखरा आईपुगेको टोली विहिबार सम्म पोखरामा रहेर दर्शकहरुसंगै बसेर फिल्म हेर्नेछ । शुक्रबार टोली नारायणघाटतर्फ लाग्ने फिल्मका निर्माता समेत रहेका सुलेमान शंकर ‘ईकु’ले जानकारी दिए ।