
कथा तयार भएर स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगिसक्यो । निर्माणपक्षले फिल्म निर्माण गर्ने घोषणा समेत गरिसके । तर फिल्मको नामाकरण भने गरिएको छैन । किन गरिएन त फिल्मको नामाकरण ? कारण हो कथा सस्पेन्स हुनु । कथा सस्पेन्स भएकै कारणले तत्काल नाम बाहिर ल्याउन नचाहेको निर्माण पक्षको स्पष्टोक्ति छ ।
पोखरामा रहेर भिडियो फिल्म र वृतचित्र बनाउदै आएको श्याम शुक्ला फिल्म प्रोडक्सनले १२ औँ स्थापना दिवसको अवसरमा ठुलो पर्दाको फिल्म निर्माण घोषणा गरेको हो । मनोजबाबु पन्तको स्क्रिप्टमा बन्ने फिल्मको निर्देशन प्रोडक्शनकै संचालक घनश्याम लामिछानेले गर्ने भएका छन् । ‘तत्काललाई फिल्म बनाउने घोषणा मात्र गरेका हौँ’, नामाकरण नगरिएको फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका लामिछानेले भने– ‘शुटिङमा जाने बेला मात्रै फिल्मको नाम सार्वजनिक गरिनेछ ।’ फिल्म फ्लोरमा जाँदा धेरै प्रचारप्रसार नगरि गुपचुपमा छायाँकन पुरा गरिने समेत उनले खुलाशा गरे ।
मोफसलमै रहेर पनि राष्ट्रिय स्तर र अन्तराष्ट्रिय स्तरमा प्रदर्शन गर्न मिल्ने खालको फिल्म बनाउन लागेको प्रोडक्सनका संचालक लामिछानेले बताए । ‘काठमाण्डौ केन्द्रित चलचित्र उद्योगलाई केहि विस्तारित बनाउनका लागी हामीले यो प्रोजेक्ट शुरु गर्न लागेका हौँ ।’ निर्देशक लामिछानेले भने–‘फिल्म पुरै पोखरामै छायाँकन हुनेछ भने कलाकारहरु पनि प्राय पोखराकै हुनेछन् ।’ फिल्म औपचारिक रुपमा साउनको अन्तिम अथवा भदौको पहिलो साताबाट फ्लोरमा जाने प्रोडक्शनले जनाएको छ । विद्या लामिछानेको प्रस्तुतीमा बन्ने फिल्मका लागी ४० लाख रुपैँया लाग्ने निर्माण पक्षको अनुमान छ ।
२०५७ सालमा फिल्मका लागी आवश्यक प्राविधिक उपकरण उपलब्ध गराउने उद्देश्य सहित स्थापना भएको प्रोडक्सनले भिडियो फिल्म ‘प्रेम मिलन’, ‘प्रेम पागल’ र गुरुङ फिल्म ‘रोधी’ निर्माण गरिसकेको छ । प्रोडक्शनकै निर्माणमा पोखरालाई चिनाउन निर्माण गरिएको बृत्तचित्र ‘लभ्ली पोखरा’ ले अन्तराष्ट्रिय स्तरमै चर्चा कमाईसकेको छ । त्यस्तै दोर्दी फिल्म प्रोडक्सनसंगको सहकार्यमा कलात्मक फिल्म ‘कश्मिरी गलबन्दी’ निर्माण गरिरहेको छ ।