
आन्तरिक राजश्व कार्यालयले लुट, चपली हाईट तथा नायकद्धय आर्यन सिग्देल र राजबल्लभ कोईराला माथी छानबिन गर्ने समाचार फिल्मीखबरमा प्रकाशित भएपछि अहिले फिल्मकर्मीहरू तर्सिन थालेका छन् । सरकार करको बिषयमा कसिलो हुन थालेपछि फिल्मकर्मीहरू कर तिर्ने प्रतिक्रिया समेत दिन थालेका छन् ।
बर्ष २०६८ को सर्वाधिक पैसा कमाउन सफल मध्येको एक फिल्म 'चपली हाईट' ले आफ्नो कमाईला पारदर्शी बनाउने भएको छ । फिल्मीखबरसँग कुरा गर्दै निर्देशक दिपेन्द्र के खनालले आम्दानीबाट तिर्न पर्ने राजश्व छली नगर्ने बताए । उनले भने, 'अझै पनि फिल्म चलिरहेको छ । हिसाब किताव प्राप्त हुने बित्तिकै हामी राजश्व तिर्नेछौं ।' तीन करोड भन्दा बढि कलेक्सन गर्न सफल चपली हाईट मात्र हैन लुटले पनि राजश्व तिर्ने भएको छ ।
लूटका निर्माता तथा बितरक नरेन्द्र महर्जनले कर तिर्ने सम्बन्धमा भने, 'कर तिर्न नै हामी प्यानबाट भ्याटमा गएका छौं । त्यसैले हामी करबाट कसरी टाढा हुन सक्छौं र ?' अघिल्ला बर्षमा फिल्मले पैसा नकमाएकाले प्यानमै रहन बाध्य भएको बताउँदै महर्जनले भने, 'हामी पहिला भ्याटमा थिएनौं किनकी हाम्रो त्यो बेला आम्दानी थिएन । तर अहिले केहि आम्दानी भएकाले हामी भ्याटमा पुगेका हौं ।'
तर कर तिरे पछि सरकारले दिने सुबिधाबाट आफूहरू बञ्चित हुनुपरेको दुखेसो महर्जनको छ । उनी भन्छन्, 'हामी कर त तिर्छौं तर सरकारले हामीलाई कर तिरेपछिको सुबिधा दिन सकेको छैन । त्यसैले नेपालीहरू कर छल्न बाध्य भएका हुन् ।' यस्तै अभिनेता राजबल्लभ कोईरालाको भनाई पनि निर्माता महर्जनको जस्तै छ । उनी भन्छन्, 'हामीले कर नतिर्ने भनेका हैनौं तर कर तिरेपछि त्यसको सुविधा हामीले पनि पाउनु पर्छ ।' यता अभिनेता आर्यन सिग्देल पनि कर तिर्नबाटा टाढा जान नसक्ने बताउँछन् ।
नेपाली फिल्मको बिजनेश राम्रो नभएकाले अधिकांश व्यानरहरू प्यानबाट माथि जान नसकेको निर्माताहरू बताउँछन् । बर्षमा ६ दर्जन भन्दा बढि फिल्म रिलिज हुने र ति मध्ये आधा दर्जन पनि सफल नहुने हुनाले फिल्म क्षेत्रबाट राजश्व संकलन हुन नसकेको उनीहरूको भनाई छ । यति हुँदाहुँदै पनि फिल्मकर्मीहरू अब भने कर तिर्न तयार भएको देखिएको छ । तर सरकारले पनि फिल्म क्षेत्रबाट राजश्व संकलन गरेपछि त्यहि अनुरूपको सेवा सुबिधा दिनुपर्ने आम फिल्मकर्मीको आवाज रहेको छ ।