
आन्तरिक राजश्व कार्यालयले ब्ल्कबस्टर फिल्म लुट, चपली हाइट तथा नायकद्धय आर्यन सिग्देल र राजबल्लभ कोइराला माथी अनुसन्धान गर्ने भएको छ । प्रदर्शनको सय दिन मनाउन लागेको फिल्म लुटले ३ करोड ५० लाख र चपली हाइटले ३ करोड बढि कलेक्सन गरेको निर्माताहरुले सञ्चारमाध्यममा बताएपछि अनुसन्धान शुरु गरिने कार्यालयले जनाएको हो ।
गत महिना छायाँकन सकिएको नेपाली र अमेरिकी संयुक्त प्रोजेक्ट हाइवे टु धम्पुसका नायक राजबल्लभले स्वयं डलरमा पारिश्रमिक बुझेको बताएका थिए । नेपाली फिल्म भन्दा ३ गुणा पारिश्रमिक लिएको उनले बताए पनि कति बुझेको भन्ने उनले खुलाएका छैनन् तर निर्माण पक्षले १५ लाख राजबल्लभले पारिश्रमिक बुझेको जनाएको छ । राजबल्लभ भन्छन्, 'पारिश्रमिक १५ लाख भन्दा पनि धेरै हो ।' त्यस्तै सुटिङको क्रममा रहेको फिल्म धुवाँका नायक आर्यनले ८ लाख पारिश्रमिक लिएको र त्यसको सम्झौता पत्र बाहिर आएपछि आयकर तिरे नतिरेको विषयमा अनुसन्धान हुने भएको हो । तर न आर्यन, न राजबल्लभ तथा न लुट र चपली हाइटका निर्माताले पनि आन्तरिक राजश्व कार्यालयमा गएर आयकर भने बुझाएका छैनन् ।
आयकर तिर्नका लागि पान नम्बर लिएकी रेखा थापाले पनि आफ्नो पारिश्रमिकको कयौं गुणा कम आम्दानी पेश गर्ने गरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । आयकर ऐनले बार्षिक २ लाख भन्दा धेरै आम्दानी हुने व्यक्तिलाई करको दायरामा राखेको छ । नेपाली कलाकारहरु बार्षिक २ लाख भन्दा बढि कमाउने धेरै भए पनि व्यक्तिगत पान नम्बर लिने कलाकार भने ज्यादै थोरै रहेका छन् । आन्तरिक राजश्व कार्यालयका अनुसार १ दर्जन कलाकारले पनि व्यक्तिगत पान नम्बर लिएका छैनन् । कर तिर्ने विषय गोप्य भएकाले कति कर तिरे भन्ने विषयमा कार्यालयले भने खुलाएको छैन । नायिका रेखा थापा, नायक भुवन केसी, शिव श्रेष्ठ, निखिल उप्रेतीले व्यक्तिगत पान नम्बर लिइसकेका छन् ।
टेलिभिजनका सिरियल कलाकारदेखी र्याम्पमा उत्रने कलाकार साथै टिभिसी देखी छापामा मोडलिङ गर्ने कलाकारहरुको पारिश्रमिक बढ्दै गए पनि करको दायरामा भने कोही पनि आएका छैनन् । सबैभन्दा बढि करको छली फिल्म क्षेत्रबाट नै हुने गरेको रंगकर्मी डा। प्रदिप भट्टराई बताउँछन् । 'फ्ल्प र हिटको कसीमा दाँज्न आफ्नो फिल्मको आम्दानी सञ्चारमाध्यममा सार्वजनिक गर्ने तर कर तिर्ने बेलामा सबैले न्यून आम्दानी देखाउने गरेको तथ्य सुरुबाटै भएको छ', उनले भने ।
नायक कोइरालाले अस्पष्ट कानुनका कारण नै आफुले व्यक्तिगत पान नम्बर नलिएको बताए । आफुले घर कर, गाडी कर तिरिरहेको बताउँदै पारिश्रमिकको आयकर तिर्ने विषयमा के गर्ने अन्यौलमा नै रहेको बताए । 'कानुन अनुसारको कार्यान्वयन छैन त्यसैले यसमा सबै दोधार छन्', उनले भने । 'हामी जिम्वेवार नागरिक हो । तिर्नु परेको बेला तिर्छौं', उनले भने ।
आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणी शर्माले फिल्म क्षेत्र र कलाकारको पारिश्रमिकका बिषयमा अब कडाईका साथ आयकर लागू गर्ने बताए । उनले फिल्म लुट र चपली हाइटले राम्रो आम्दानी गरेको सञ्चारमाध्यममा आइरहेको हुनाले ती फिल्मका बारेमा अनुसन्धान शुरु हुने पनि बताए । साथै नायक आर्यन र राजबल्लभको पारिश्रमिक अनुसार आयकर तिरे न तिरेको पनि बुझिने उनले बताए । करका विषयमा कला क्षेत्रबाट कति राजश्व उठेको छ त्यो पनि छुट्टाएर तथ्याँक राखिने उनले बताए । जो कोहीले पनि आफ्नो आम्दानीको आयकर तिर्नेुपर्ने हुन्छ । 'यदी परिवारसँग छ भने २ लाख र एकल छ भने १ लाख ६० हजारसम्म छुट हुन्छ त्यो भन्दा माथी कमाउने सबैले व्यक्तिगत आयकर तिर्नेुपर्ने हुन्छ', शर्माले भने ।
यसरी कर नतिर्ने कलाकार दर्जनौं छन् र ति कलाकारमा क-कस्ले कर तिरेको छ भन्ने बारे राजश्वले छिट्टै रिसर्च गर्नेछ । अहिले फिल्म क्षेत्रमा एउटा फिल्म खेले वापत २ लाख भन्दा बढि पारिश्रमिक लिने कलाकारमा राजेश हमाल, रेखा थापा, आर्यन सिग्देल, राजबल्लभ कोईराला, जीवन लुईटेल, केकी अधिकारी, निशा अधिकारी, नम्रता श्रेष्ठ, बिराज भट्ट, निरज बराल, कर्म, निखिल उप्रेती, सुमन सिंह लगायतका छन् ।