मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.60/5.00)
Text size:-
+
-

हाकु काले बास्तबिक जीवनमा पनि ठग !

फिल्मीखबर, काठमाण्डौ, 2012/04/19

लुट भित्रको मेन क्यारेक्टर हाकु काले उर्फ सौगात मल्लले फिल्म भित्र जसरी आफ्ना साथीहरुलाई छल गरी बैंकबाट लुटिएको रकम लिएर फरार भएका थिए त्यसैगरी उनी बास्तविक जीवनमा पनि बेईमान रहेछन् ।



दक्षिण कोरियामा लुट शोका लागि गएका बेला कान्तिपुर दैनिककाका लागि दिइएको  ईन्टरभ्यूमा उनले 'एस एल.सी फेल भएपछी बुबाले भारतबाट नक्कली प्रमाणपत्र ल्याईदिएको र त्यहि बोकेर आरआर क्याम्पस भर्ना भएको रहस्य सार्बजनिक गरेका छन् । आरआर क्याम्पस मानविकि संकाय पढाई हुने काठमाण्डूको एक प्रमुख क्याम्पस हो जुन प्रदशर्नी मार्गमा अवस्थित छ ।

 

बाबुले भारतबाट किनेर ल्याएको नक्कली सर्टिफिकेटको भरमा कालेले क्याम्पस जोईन गर्दा क्याम्पस प्रशासन प्रति विभिन्न प्रश्न उब्जिएको छ । हाकु काले क्याम्पस जोईन गर्दाको समयका क्याम्पस प्रशासन पदाधिकारी, नक्कली सर्टिफिकेट किनेर ल्याउने उनका बाबु सहित सौगातलाई प्रशासनले सजाय देला त ? यो बिषयमा फिल्मीखबरको फलोअप जारी रहनेछ । त्यो भन्दा अघि गत चैत्र २६ गते प्रकाशित ईन्टरभ्यूमा उनले नक्कली सर्टिफिकेटको बारेमा आफैले खोलेको रहस्य पढ्नुस ।

 

दक्षिण कोरिया, चैत्र २६ - स्वदेशसँगै विदेशमा समेत राम्रै कलेक्सन गरिरहेको फिल्म 'लुट’ नायक सौगात मल्ल केही दिनअघि कोरिया आइपुगे । फिल्म प्रदर्शनका लागि आइपुगेका उनी फिल्मको पात्र 'हाकु काले’ कै गेटअपमा थिए । कोरियाली नेपालीहरूको तर्फबाट सम्मान समेत पाएका उनको कथा हिजो कस्तो थियो र अहिले कस्तो छ ? उनकै शब्दमाः

 

३१ वर्षअघि नवलपरासीमा जन्मिएको हुँ ।  बाल्यकाल त्यहीँ बित्यो । पढ्न पटक्कै मन लाग्दैनथ्यो । सरले पढाएको पनि दिमागमा एउटै घुस्दैनथ्यो । किताबभन्दा कमिक्स पढ्न रुचाउँथें । पढ्न छोडेर नृत्य, अभिनय र भारतीय कलाकारहरूको क्यारिकेचर गर्थें । बुबाआमा चिन्तित भएर राम्रा-राम्रा स्कुल पठाउनुहुन्थ्यो । परासीका सबै स्कुल चाहारे पनि अन्ततः एसएलसी फेल गरें । तर अभिनयका लागि भने काठमाडौ छिर्न चाहन्थें ।  मेरो त्यही भावना बुझेर बुबाले भारतबाट नक्कली प्रमाणपत्र ल्याइदिनुभयो । त्यही बोकेर आरआर कलेजमा भर्ना भएँ ।

 

आरआरमा भर्ना हुँदा ठूलै सपना बुनेको थिएँ । त्यहाँ अभिनय र सांस्कृतिक कार्यक्रम बढी हुन्छन् भन्ने सुनेको थिएँ, हैन रहेछ, राजनीतिक पार्टीको नाममा लडाइँ पो हुँदा रहेछ । जसोतसो क्लास लिएँ । परीक्षा दिँदै र फेल पनि हुँदै गएँ । संयोगवश एकजना साथीको माध्यमबाट फिल्म निर्देशक आकाश अधिकारीसँग भेट्ने मौका पाएँ । अनि अभिनय सम्बन्धी ६ महिने कोर्स पूरा गरें । उहाँले 'रणभूमि', 'पन्छी', 'दाग' लगायत फिल्ममा स-सानो भूमिका दिनुभो । अर्कोतिर रंगमञ्चमा पनि प्रयास गरिरहेको हुन्थें । म बसेको घर नजिकै रंगकर्मी वीरेन्द्र हमालको अफिस थियो, एक साथी मार्फत पुगें । उहाँले नै एकेडेमीमा बोलाउनुभयो ।

हमाल गुरुले एकेडेमीमा बोलाएपछि त्यहाँ अनुप बराल र सुनील पोख्रेलसँग संगत पाएँ  । त्यतिखेर उहाँहरू कहिले एकेडेमीमा, कहिले आरोहणमा नाटक मञ्चन गर्नुहुन्थ्यो र मलाई पनि अभिनय मौका दिनुभयो । तिनै गुरुहरू थिएटरलाई व्यवस्थित गराउन गुरुकुलको स्थापना गर्ने योजना बनाइरहनुभएको रहेछ । गुरुकुलको संस्थापक सहयोगीमा म पनि थिएँ । वास्तवमा गुरुकुल अभिनयका लागि पवित्र मन्दिर थियो । दर्जनौं नाटकमा अभिनय गर्ने मौका त्यहीँ पाएँ ।

 

एक दिन एकजना साथीको सल्लाहमा भूषण दाहालको निर्देशनमा बन्न लागेको फिल्म 'कागबेनी'मा र्फम भर्न गएँ । छनोट भइयो र फिल्ममा पहिलोचोटि नायक हुने मौका पाएँ । त्यसपछि लगातार अफर आई नै रह्यो । मेरो प्रमुख अभिनयमा निर्माण गरिएका 'सौर्य', र 'हाई-वे' सहित तीन फिल्म रिलिज हुन बाँकी छन्, 'छड्के' को वर्कसप भइरहेको छ । जीवनमा जानेको भन्नु नै अभिनय हो र यो सजिलो पनि छैन । तैपनि निरन्तरता दिई नै रहनेछु ।

 

'लुट' तयार गर्दा लगानी जुट्नै गाह्रो भयो । तर आत्मविश्वास गुमाएनौँ । स्क्रिप्टलाई नै खुल्ला बहसमा राखेका थियौं, जुन अरू फिल्ममा हुँदैन । यसमा पात्र, चरित्र र संवादलाई सबल बनाइएको छ । नेपाली चलचित्रको क्षेत्र सानो भएकाले हलिउड बलिउड जस्तो पैसाले झकीझकाउ गर्न सकिँदैन । त्यसैले नेपाली दर्शकले एउटा चलचित्र कम्तीमा पनि ६/७ चोटि हेर्नुपर्छ अनि मात्र नेपाली फिल्मको विकास हुन सक्छ । अब बन्ने फिल्महरूले 'लुट' को भन्दा धेरै मिहिनेत गर्नु पर्नेछ ।

 

'लुट' हेरेपछि फ्यानहरूको फोन आउन थालेको छ, त्यसमा केही केटी पनि छन् । तर, कसैले प्रेमप्रस्ताव चाहिँ राखेका छैनन् । मन पर्ने केटीहरू थुप्रै भए पनि अहिले प्रेम र विवाहबारे सोचेको छैन । प्रेम गर्‍यो भने चरित्र र अभिनय तेजोबध हुने डर छ । त्यसैले दिलमा प्रेम साँचेर राखेको छु । केहीले सरिता गिरी -रंगकर्मी) सँग मेरो नाम जोडे, त्यो प्रेम थिएन तर उनले मेरो संघर्षशील जीवनमा धेरै सहयोग गरेकी छन् । घरजम गर्न बैंक ब्यालेन्स पनि हुनुपर्‍यो । मसँग छँदै छैन । बैंक जाने बानी पनि छैन । यति हुँदाहुँदै पनि सेक्सको अनुभव भने छ  ।

 

फुर्सदको बेलामा कथा र नाटक पढ्ने गर्छु । कोठामा पुस्तक बाहेक अरू केही छैन । कोरिया आउने दिन घरमा दुइटा गेट र झ्याल ढोका फोरेर चोर पसेको थियो । कोठामा भुजा-चिउरा र पुस्तक बाहेक केही थिएन । के लानु ? एन्टोन चेखभ, विलियम ज्याकोब्स, निर्मल बर्मा लगायत विश्वप्रसिद्ध कथाकारका किताबहरू पढिसकेको छु । सबैभन्दा धेरैचोटि पढेको चाहिँ इन्द्रबहादुर राईका कथाहरू हुन् ।

 

कोरिया दोस्रो भ्रमण हो । चार वर्षअघि 'अग्निको कथा' नाटक लिएर जेजु टापुमा आएको थिएँ । त्यतिखेर कोरियामा नेपाली नै छैनन् जस्तो लागेको थियो तर गलत रहेछ । उहिले आमाबुबासँग डर लाग्थ्यो । आजभोलि दर्शकसँग डर लाग्न थालेको छ ।  ईन्टरभ्यू साभार  :  कान्तिपुर दैनिक