
फिल्मसँग सम्बन्धित प्रमुख संघसंस्थाको असुन्तुष्टिको बीचमा चलचित्र बिकास बोर्डले आउँदो ८ गते देखि सुर्खेतको बिरेन्द्रनगरमा गर्न लागेको तीन दिने चलचित्र महोत्सव विभिन्न कारण विवादमा फसिरहेको छ ।
जानकारी बेगर मूल आयोजक समितिमा राखिएको बिषयमा चलचित्र निर्देशक समाज र द्धन्द संघले चर्को आलोचना गरिरहेका बेला अन्य संघसंस्थाका पदाधिकारीले पनि बोर्डको महोत्सव बैज्ञानिक नभएको भन्दै आलोचना गरिरहेका छन् । स्थानिय स्तरबाट दश लाख र बोर्डको खाताबाट दश लाख झिकेर हुन लागेको चलचित्र महोत्सवमा सञ्चारकर्मीको टोली सहित ७२ फिल्मकर्मी सुर्खेत प्रस्थान गर्दैछन् । त्यस मध्येको एक टोली आज साँझनै बस मार्फत सुर्खेत प्रस्थान गरेको छ भने बिहिबार बिहान अर्को टोली बसबाटै सुर्खेत प्रस्थान गर्दैछ । बाँकि रहेका २६ जना बुद्ध एयर मार्फत ८ गते बिहान सुर्खेत प्रस्थान गर्दैछन् ।
प्लेन मार्फत महोत्सवमा सहभागी हुन सञ्चारमन्त्री राजकिशोर यादव, शान्ति मन्त्री सत्या पहाडी सहित पर्यटनमन्त्री लोकेन्द्र बिष्टको पिए सहित थप तीन मन्त्रीको तीन सुरक्षाकर्मी गरी सात सदस्य जादैछन् । बोर्ड सदस्य निलहरी काफ्लेको नेतृत्वमा प्लेनबाट सुर्खेत जाने कलाकारमा बोर्डको सल्लाहकार समितिबाट नीर शाह, शम्भुजित बाँस्कोटा, भुवन चन्द, शैलेश आचार्य, कृष्ण मल्ल रहेका छन् । यस्तै कलाकार आमन्त्रित तर्फ बसुन्धरा भुषाल, करिश्मा मानन्धर, रेखा थापा, राजेन्द्र खड्गी, भुवन केसी, जीवन लुईटेल, राजबल्लभ कोईराला, मदनदास श्रेष्ठ, जितु नेपाल, गायक दीपक लिम्बु, गायिका जुना प्रसाई, माण्डवी त्रिपाठी र सञ्चारकर्मी प्रकाश सुवेदी रहेका छन् । त्यस बाहिर सोही टोलीमा निर्माता संघका अध्यक्ष राजकुमार राईले आफैले टिकट खर्च ब्यहोरेका छन् ।
२६ सदस्य टोलीको पर टिकट ६ हजार ८ सय ४० पर्न जान्छ जसको दुई तर्फी भाडा १३ हजार ६ सय ८० हुन्छ र २६ जनाको समग्र टिकट खर्च ३ लाख ५५ हजार ६ सय ८० हुन आउछ । त्यसबाहेक बसबाट जाने सदस्यका लागि आउन जान करिब दुई लाख बजेट लाग्ने देखिएको छ । यसरी हेर्दा बोर्डले महोत्सवका लागि भनेर छुट्याएको १० लाख बजेटमा पाँच लाख भन्दा बढि यातायात खर्चमा हुने देखिएको छ । बाँकी रकम लजिङ र फुडिङमा सकिने देखिन्छ ।
अभावका बाबजुत हतारमा सुर्खेतमा महोत्सव गर्दा अधिकाश चलचित्रकर्मी छुटेका छन् । जस मध्ये नीता ढुङगाना, सुमिना घिमिरे, कल्पना शाही र अनु शाहले महोत्सवमा प्रस्तुती राख्दैछन् । यस्तै हिरो तर्फ मायाको बारीमा फिल्मका सोलो हिरो एसराज बाहेक अन्य चिनिने कलाकारको प्रस्तुती छैन । १८ घण्टाको बस यात्रा पार गरेर आयोजना हुन लागेको महोत्सवको तयारी यति सम्मको लथालिङ्ग थियो कि सुर्खेत प्रस्थान गर्ने अघिल्लो दिन अपरान्ह सम्म बोर्ड निम्तो बाँडिरहेको थियो । यस कार्यलाई बोर्डका सदस्य निलहरी काफ्लेले गल्ती भएको भनी स्वीकारेका छन् । कार्यक्रम प्रति चलचित्रकर्मीको असन्तुष्टी रहे पनि काफ्लेले मोफसलका दर्शकसंग चलचित्रको दुरी घटाउने प्रयास भनी ब्याखा गर्दै अभावलाई अन्यथा नसोच्न आग्रह गरेका छन् ।
अपडेट : निर्माता संघका अध्यक्ष राजकुमार राई आफ्नै खर्चमा जाने कुरा फिल्मिखबरमा आएपछि, केहि विवाद उठेपछि चलचित्र बिकास बोर्डले राईलाई आफ्नै खर्चमा सुर्खेत लाने भएको छ।